NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सबै नागरिकलाई खोप लगाउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि खोप ल्याउन सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन् । उनले प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोप ल्याउन पहल थाल्न निर्देशन दिएका हुन् । कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाइँ जितिने, अन्यथा लडाइ गरिरहनुपर्ने स्थिती बनेको बताए । उनले सबै नागरिकलाई खोप लगाएर कोभिड–१९ विरुद्धको लडाई जित्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको लडाइँ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै सबैका लागि खोपको व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् । जनताको जीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको प्रधानमन्त्री ओलीको भनाई थियो । सरकारले हालै ल्याएको कोभिड १९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र स्रोत साधन सरकारले तत्कालै उपलब्ध गराउने समेत उनले बताए । प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्याङ्क हासिल गरी उपचार सेवाको अवस्था, चिकित्साकर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्न संयोजन हुनुपर्ने बताएका छन् । ‘‘पालिका पालिकासम्म समन्वय गरी कति संक्रमित छन्, होम आइसोलेशनमा कति बसेका छन् ? कति जँचाउन आएका छन् कति आएका छैनन् तिनको अवस्था के छ भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग खोप कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ ।’’ उनले भने । विगतमा अक्सिजनको आपूर्तिलाई सरकारले विमानबाट सिलिण्डर मगाएर समेत उच्च महत्व दिएको प्रधानमन्त्रीको दावी थियो । अहिले विभिन्न मित्र राष्ट्रहरुबाट अक्सिजन सिलिण्डर र अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्विड अक्सिजन सिलिण्डर कै व्यवस्था गर्न पनि सरकार लागिपरेको बताए । प्रधानमन्त्री ओलीले अक्सिजनको आपूर्तिमा दोस्रो लहरको सुरुवाती अवस्था भन्दा अहिले उल्लेख्य सुधार आएको बताएका छन् ।