NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

उपेन्द्र यादवलाई महन्थ ठाकुरको सात बुँदे स्पष्टिकरण, देउवालाई किन समर्थन गरेको ?

काठमाडौँ । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग ७ बुँदे स्पष्टिकरण माग गरेका छन् । अध्यक्ष ठाकुरले मंगलबार अर्का अध्यक्ष यादवलाई स्पष्टिकरण सोधेका हुन् । स्पष्टिकरणमा पार्टीमा किन गुटबन्धी गरेको ? लुम्बीनी प्रदेश सांसदलाई किन निकालेको ? पार्टीको विधि पद्धती उल्लंघन गरेको देखि शेरबहादुर देउवाको पक्षमा किन उभिएको भन्ने सम्म प्रश्न गरिएको छ । यस्तै ठाकुरले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनेर समेत यादवलाई स्पष्टिकरणमा प्रश्न गरेका छन् । यादवमाथि संविधानको धारा ७६–५ अनुसार केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८ जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गरेको भनेर पनि सोधिएको छ । ठाकुरले उल्लेखित ७ प्रश्नको तीन दिनभित्र जवाफ दिन निर्देशन दिएका छन् । ठाकुरले पार्टी विधानको दफा ४९ अनुसार प्रष्टिकरण सोधिएको समेत पत्रमा उल्लेख छ । यस्ता छन्, यादवलाई स्पष्टिकरण सोधिएका प्रश्नहरु १. पार्टी एकता भएदेखि नै समायोजनमा रुची नदिई विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा वैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधीहरु किन संचालन गर्नुभयो ? २. मेरो जानकारी वेगर अनधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठक बसी लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभालाई किन निस्काशन गर्नुभयो ? ३. तपाईले मिति २०७८ बैशाख ७ गते पार्टीद्धारा जारी गरिएको सर्कुलर बमोजिम कोभिड–१९ को महामारीको बढ्दो संक्रमणले २०७८ जेठ ८ र ९ गते निर्धारण गरिएको वैठक कुन कारण र मनसायका साथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाई एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णयहरु गर्नुुभयो ? ४. पछिल्लो समयमा मैले रोक्दा रोक्दै अनाधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टीको केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठकहरु बसी पार्टी हित विपरित विभिन्न खाले निर्णयहरु किन गर्नुभयो ? ५. विगतका दिनहरुमा पार्टी र पार्टी सम्वद्ध मोर्चा तथा गठबन्धनद्धारा गरिएको संघर्ष र आन्दोलनको क्रममा आन्दोलनकारी साथीहरु माथि लगाइएको झुठ्ठा मुद्धा फिर्ता, बन्दी रिहाई, उत्पीडित जातजाति र समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व, समानता, पहिचान र अधिकार प्राप्तिका निम्ति अपूर्ण रहेको संविधानमा संशोधन, नागरिकता सम्वन्धी समस्याको समाधान गर्ने उदेश्यले गठित कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले माग मुद्धा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा तपाईलाई किन ठेस पुग्यो र के कारणले अनुशासनको कारबाही प्रक्रिया अगाडी बढाउनु भयो ? ६. तपाईले मिति २०७८ जेठ ६ गते संसदीय दलद्धारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६–५ अनुसार केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८ जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गर्नुभयो ? ७. तपाईले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्नुभयो ?