NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

फिल्मी क्षेत्र छोडेकी नायिका घिमिरे र पाइलटद्वारा प्राविधिकलाई सहयोग

काठमाडौं । फिल्म क्षेत्र छोडेकी नायिका सुमिना घिमिरे सापकोटाको परिवारले कोभिड-१९ महामारीबाट प्रभावित चलचित्र प्राविधिकहरुलाई सहयोग गरेको छ । घिमिरे र उनका पति पाइलट रोशन सापकोटाले चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग समन्वय गरी बुधबार काठमाडाैंमा फिल्म क्षेत्रका ४० प्राविधिकको परिवारलाई खाद्यसहितका सामग्री वितरण गरेका हुन् । घिमिरे र पाइलट सापकोटाले व्यक्तिगत रुपमा झण्डै तीन लाख रूपैयाँ बराबरको खाद्यसहितका सामग्री सहयोग गरेका हुन् । ‘अघिल्लो वर्षमात्र होइन यो वर्ष पनि कोरोना महामारीका कारण फिल्म क्षेत्र सबैभन्दा प्रभावित हुन पुगेको छ । यो सँगै चलचित्र क्षेत्रमा काम गर्ने प्राविधिकहरुको पनि रोजगारी गुमेको छ’ घिमिरेले भनिन्, ‘यसैले प्राविधिकहरुलाई केही सहयोग होस् भनेर हामीले व्यक्तिगत रुपमा खाद्यसहितका सामग्री घरघरमा पुगेर सहयोग गरेका हौं ।’ फिल्म क्षेत्रबाट टाढिए पनि आफूले यो क्षेत्रलाई उत्तिमै सम्मान र माया गरेको उनी बताउछिन् । प्रतिपरिवारलाई चामल एक बोरा, सोयाविन एक प्याकेट, तेल दुई लिटर, नुन दुई केजी, दाल तीन केजी, चाउचाउ एक कार्टुन, चिनी एक केजी, अण्डा एक क्रेट, मास्क एक प्याकेट, सावुन, नुन, मसला, नुहाउने सावुन र स्यानीटाइजरसहितका सामग्री उनीहरुले घरघरमैं पुगेर वितरण गरेका हुन् । पाइलट रोशन सापकोटासँग विवाह गरेपछि नायिका घिमिरले फिल्मी क्षेत्र भने छोडेकी छिन् । घिमिरेले फिल्म, म्युजिक भिडियो र विज्ञापनसमेत खेलेकी छिन् । रिलिज भएको उनको पहिलो फिल्म दुलही हो । उनका दुलही, भीमदत्त, रंग बैजनीसहितका फिल्म चर्चित छन् ।