NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

आजका ‘गुड न्युज’ : टेलिफोन वार्तालगत्तै चिनियाँ राष्ट्रपतिद्वारा १० लाख डोज खोप दिने घोषणा

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रेसित भए । ती खबरमध्ये आज कोरोना महामारी र राजनीतिक विषयवस्तुका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । अहिले कोरोना संक्रमितको संख्या भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा कोरोना जित्नेको संख्या धेरै रहेको छ । मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् । यी खबरहरू बीच आज अन्य सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । टेलिफोन वार्तालगत्तै चिनियाँ राष्ट्रपतिद्वारा १० लाख डोज खोप दिने घोषणा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच खोपबारे टेलिफोन वार्ता भएको छ । वार्तालगत्तै चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप लिने घोषणा गरेका छन् । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।यसअघि बुधबार नै राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दसँग पनि खोप उपलब्ध गराइदिन पत्राचार गरेकी छन् । छत्रपाटी निःशुल्क कोभिड अस्पताल सञ्चालन बुधबारदेखि काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । काठमाडौँ महानगरको सहयोगमा बुधबारदेखि सुरु भएको कोभिड उपचार अस्पतालको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शुभारम्भ गरेका छन् । कोभिड अस्पताल सञ्चालनका गर्न महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार ७ सय ३५ रुपैयाँ र मासिक सञ्चालन खर्चवापत् करिब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ उपलब्ध गराउने भएको छ । अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसियु, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयुसहित ३५ वेडको कोभिड अस्पताल सञ्चालन भएको हो ।अस्पतालमा निशुल्क उपचार सेवा प्रदान हुनेछ । महानगरले विभिन्न १२ वटा अस्पतालहरुसँग स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक सहयोग गर्ने सम्झौता गरे अनुसार यो सहयोग उपलब्ध गराइएको हो । महानगरको सहयोगमा राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पताललगायत विभिन्न अस्पतालमा भौतिक सुधारको क्षेत्रमा काम भइरहेको छ । https://www.youtube.com/watch?v=sg5SeqLRJIw २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपलब्ध गराइने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गतको रकम प्रयोग गरेर आधारभूत विद्यालयहरूमा निःशुल्क इन्टरनेट उपलब्ध गराइने जानकारी दिए। देशैभरमा सार्वजनिक निकायहरूमा उच्च गतिको इन्टरनेट पु(याउने लक्ष्यसहित ब्रोडब्यान्ड नेटवर्क विस्तारका लागि प्राधिकरणले पाँच अर्ब रुपियाँभन्दा बढी लगानी गरिरहेको छ । थप २० हजार विद्यालय पनि जोडिने भएपछि करिब एक अर्ब रुपियाँ जति लगानी थप्नुपर्ने प्राधिकरणको अनुमान छ । यस कार्यक्रममा स्थानीय तहमार्फत देशभरका प्राथमिक र निम्न माध्यमिक विद्यालयहरू लाभान्वित हुनेछन् । यस्तै सरकारले भूकम्पबाट अति प्रभावित बागमती प्रदेशका विभिन्न आठवटा जिल्लामा अप्टिकल फाइबरसहितको ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने भएको छ ।