NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न चिकित्सक संघको माग

सुर्खेत । नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा संलग्नलाई कडा कारबाही गर्न नेपाल चिकित्सक संघ कर्णाली प्रदेशले माग गरेको छ । नेपाल चिकित्सक संघ कर्णालीका अध्यक्ष डा. नवराज केसी र महासचिव डा. केएन पौडेलद्धारा संयुक्तरुपमा विज्ञप्ति निकाल्दै यस्तो माग गरिएको हो । ‘संसारभरी कोरोना महामारीको दोस्रो लहर फैलिएको छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको प्रवाह नगरी निरन्तर सेवा दिइरहेका छन् । भेरी अस्पतालको आइसियू कक्षमा केही अमानवीय तत्वहरूले कानुनी राज्यको धज्जी उडाउँदै गरेको आक्रमणप्रति यो संघ दुखी बनेको छ’, विज्ञप्तिमा भनिएको छ । संघले आक्रमणमा संलग्न दोषीलाई कानुन अनुसार मुद्दा चलाएर सजाय दिलाउन माग गरेको छ । दोषीलाई गैरजमानती हिरासतका नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने माग गरिएको छ । बिहीबार राति बिरामीको मृत्यु भएपछि भेरी अस्पतालका चिकित्सक र नर्सिङ बिरामीका स्टाफमाथि आफन्तले कुटपिट गरेका थिए । उनीहरूले अस्पताल तोडफोड समेत गरेका थिए । घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तुलसीपुर उपमहानगरपालिका–११ का मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनका दाइ ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।