NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन, चार मन्त्री थपिए

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । शुक्रबार उनले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिमण्डलमा प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन भएका छन् । त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री बनाएका छन् । तारा लामा तामाङलाई मन्त्री बनाउनकै लागि आजै प्रमुख सचेतकबाट हटाइएको थियो । तर, उनले पार्टीमा विवाद रहेको भन्दै मन्त्री पद अस्वीकार गरेका छन् । नेकपा एमालेका नवनियुक्त प्रमुख सचेतक लालबहादुर खड्कालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका प्रकाश शाहले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पनि लिने भएका छन् । यसअघि नेकपा एमाले स्थायी कमिटी बैठकले सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरेको थियो । तर, माधव समूहको बहुमत रहेकाले त्यसका सांसदहरुले सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेका थिए । प्रदेश सरकारमा २५ सांसद एमालेकै छन् ।