NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ठूला आयोजना : कुन आयोजनामा कति बजेट ?

काठमाडौं । निर्माणको काम सुरु भइसकेका र सम्पन्न नभइसकेका ठूला आयोजनालाई सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दा सरकारले ठूलो आयोजनालाई प्राथमिकतामा राखेको हो । कोटेश्वर जडीबुटी खण्डमा सुरुङ्गमार्ग काठमाडौं उपत्यकामा अत्याधिक ट्राफिक जामको चाप पर्ने कोटेश्वर–जडिबुटी सडकखण्डमा सरकारले सुरुङमार्ग बनाउने घोषणा गरेको छ । त्यस्तो सुरुङ्ग मार्ग बनाउन १ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । योसँगै नयाँ बन्ने सडकखण्डमा सरकारले सुरुङमार्गलाई विशेष प्राथामितामा राखेर काम गर्ने अर्थमन्त्री पौडेलले बजेट भाषणमार्फत जानकारी दिएका छन् । विमानस्थल निर्माण र सुधारमा २० अर्ब ३१ करोड विमानस्थल निर्माणका लागि मात्रै सरकारले २० अर्ब ३१ करोड बजेट छुट्याएको छ । सरकारले आर्थिक वर्षमा विभिन्न चार वटा अन्तर्राष्ट्रिय र केही आन्तरिक विमानस्थल निर्माण गर्न २० अर्ब ३१ करोड रुपैयाँ बजेट छुट्याएको हो । पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्रै ८ अर्ब बजेट छुट्याएको छ । गौतम बुद्ध विमानस्थललाई ३ अर्ब ५३ करोड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको थप स्तरोन्नतीका लागि ६ अर्ब ९५ करोड बजेट विनियोजन गरेको हो । त्यस्तैगरि आन्तरिक विमानस्थलको पूर्वाधार निर्माणमा १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ । राजमार्ग सुधारमा १५ अर्ब ३४ करोड सरकारले आगामी आ.व.का लागि पूर्व–पश्चिम राजमार्गलाई सुरक्षा मापदण्डसहितको चार लेनमा विस्तार गर्न १५ अर्ब ३४ कराड बजेट विनियोजन गरेको छ । यो राजमार्गको सघन वस्ती भएको क्षेत्रमा सर्भिस लेन, अण्डरपास तथा फ्लाइओभर, चुरे क्षेत्रमा टनेल र वन क्षेत्रमा वन्यजन्तु टनेलसमेत निर्माण गरिनेछ । हुलाकी राजमार्गलाई ६ अर्ब ३९ करोड सरकारले लामो समयदेखि पूरा हुन नसकेको हुलाकी राजमार्ग यसै बर्ष निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । त्यसका लागि ६ अर्ब ३९ करोड रुपैयाँ बजेट छ्ट्याएको छ । हुलाकी राजमार्ग २०४७ सालमा बनाउने घोषणा गरिए पनि नेपाल र भारतबीच २०६१ सालमा राजमार्ग निर्माणबारे सम्झौता भएको थियो । फास्ट ट्रयाकमा ८ अर्ब १५ करोड काठमाडौं र तराई जोड्ने फास्ट ट्रयाकको निर्माण गर्न ८ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । मेलम्चीलाई ३ अर्ब ५१ करोड मेलम्ची खानेपानी आयोजनको दोस्रो चरणको काम सुरु गर्न सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्केबाट ३४/३४ करोड लिटर पानी मेलम्चीमा मिसाएर ५१ करोड लिटर पानी राजधानी भित्र्याउने लक्ष्य छ । नागढुंगा–नौबिसे सुरुङमार्गमा ९ अर्ब ८५ करोड यस्तै निर्माणधीन नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणको लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ । यो सुरुङमार्गको निर्माण सुरु भएसँगै नेपाल आधुनिक सडक सुरुङमार्ग युगमा प्रवेश गर्ने अर्थमन्त्री पौडेलले बताए । रेलमार्गमा १० अर्ब रक्सौल–काठमाडौं तथा केरुङ्ग –काठमाडौं–पोखरा रेलमार्गको लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने जनाएको छ । जसको लागि सरकारले १० अर्ब ३ कराड बजेट छुट्याएको छ । पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजना निर्माण गर्न यो बर्षका लागि यो बजेट घोषणा गरेको हो । पूर्व पश्चिम रेलमार्गका लागि यस अघि नै डिपिआर तयार भइसकेको छ । प्रशारणलाइन र सबस्टेशन निर्माणमा ३७ अर्ब सरकारले प्रशारणलाइन तथा सबस्टेशन निर्माणमा ३७ अर्ब रकम विनियोजन गरेको छ । आगामी आवमा ६ सय ३५ मेगावाट क्षमताको जलाशययुक्त दुधकोशी जलविद्युत आयोजना निर्माण सुरु हुने सरकारले जनाएको छ । माथिल्लो अरुण आयोजनाको पूर्वतयारी सम्पन्न गर्न ७ अर्ब ४० करोड विनियोेजन गरेको छ ।