NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

लुम्बिनीमा एमाले र विपक्षीको प्रतिष्ठाको लडाईं : २९७ जनाले भोट खसाले अब कसले जित्ला ?

काठमाडौं । लुम्बिनी प्रदेशमा एक सदस्यको लागि भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा २९७ जनाले भोट हालेका छन् । तीन सय मतदातामध्ये ३ जना अनुपस्थित भए । बाँकेका मेयर धवलशमशेर राणाले निर्वाचन बहिष्कार गरे । नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा भएकोले उपस्थित भएनन् । निर्वाचनमा मतदाता हुने मध्ये प्रदेशसभाका ८३ र स्थानीय तहमा २१७ गरी ३ सय मतदाता थिए । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ । निर्वाचनमा एमालेका चन्द्रबहादुर खड्का कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवार दृगनारायण पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन् ।एमालेका उम्मेदवारलाई जसपाको महन्थ ठाकुर पक्षको पनि साथ छ । मतदान सकिएको केही बेरमा मतगणना गरेर नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । यस अघि वागमतिमा रामबहादुर थापा बादल पराजित भएपछि लुम्बिनीमा सत्तारूढ एमालेले दलले यसपटक जितलाई प्रतिष्ठा बनाएको छ । पछिल्लो समय एमालेमा केपी ओलीका कदमप्रति विपक्षी आक्रामक देखिएका छन् । प्रधानमन्त्रीले राष्ट्रपतिसँग मिलमतो गरी संसद विघटनसम्म गराएको आरोप विपक्षीको छ । तर, ओलीले आफू संविधानसम्मत अघि बढेको बताउँदै आएका छन् । यस्तै आरोप र प्रत्यारोपकाबीच भएको निर्वाचनलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका हुन् । एमाले उम्मेदवारलाई हराउन सके उनले लिएको कदमप्रति वितृष्णा रहेको सन्देश जाने विपक्षीहरुको बुझाई छ । यता आफ्ना उम्मेदवारलाई जिताएर ओली आफूप्रति आकर्षण र समर्थन रहेको देखाउन चाहन्छन् । बादलविरुद्ध पनि कांग्रेस, माओवादी, एमालेको माधव नेपाल समूहसहितका दलले साझा उम्मदेवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सारेका थिए । जसमा गठबन्धनका उम्मेदवार देवकोटा ५०८८ मतभार ल्याएर विजयी हुँदा बादलले ४०१४ मतभार पाएका थिए । माओवादीबाट राष्ट्रियसभामा जितेका अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो । सोही पदमा आइतबार दाङमा निर्वाचन भएको हो ।