NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

स्वास्थ्यकर्मीसँग ‘विश्व भरीका बझाङी एक होऔँ’ अभियानको छलफल

काठमाडौं । ‘विश्व भरीका बझाङी एक होऔँ’ भन्ने नाराका साथ खप्तड छान्ना राइजीङ्ग अप लामातोलाले बझाङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत्त जनस्वास्थ्यकर्मीहरू सँग जिल्लामा ‘कोरोनाको वर्तमान अवस्था र आवश्यकता बारे आइतबार भर्चुअल माध्यममा छलफल गरेको छ । जापान, अमेरिका, कोरिया, मलेसिया, अस्ट्रेलिया, भारत र नेपालबाट झण्डै ४ दर्जन युवा, जनस्वास्थ्यकर्मी, डाक्टर, विद्यार्थी लगाएतको सहभागीतामा छलफल गरिएको हो । छलफलका क्रममा कोभिड – १९ को महामारीमा जिल्लाका अस्पताल र स्वास्थ्य चौकीहरूमा औषधी र अक्सिजनको अभाव भएकोले त्यसको व्यवस्था गर्न आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । छलफलमा सहभागी बझाङका स्थानीय तहका जनस्वास्थ्य संयोजकहरूले आ-आफ्नो क्षेत्रमा कोभिड सङ्क्रमितको सङ्ख्या, सुरक्षा उपकरण, औषधीको आपूर्ति र आवश्यकताको बारेमा जानकारी गराए । वित्थडचीर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिभक्त अवस्थीले स्वास्थ्य कर्मीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण पीपीइको आवश्यकता रहेको बताए । साइपाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयराज जोशीले वित्थडचीरकै जस्तो समस्या आफूहरुको पनि रहेको बताए । उनले यार्सागुम्बा संकलनका लागि गएकाको लागि हिमाली पाटनमै आइसोलेसनको व्यवस्था गरिएको समेत बताए । मष्टा गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख भीम बोहराले २५ जना आइसोलेसनमा रहेको बताए । उनले पनि स्वास्थ्य सामाग्रीको आवश्यकता रहेको बताए । केदारस्युँ गाउँपालिकाका स्वास्थ्य प्रमुख कैलाश बलायरले झोतामा दुई आइसोलेसन सेन्टरका साथै ४ कन्सनट्रेटर र अक्सिजन सिलिन्डरकासाथै पीपीइ पनि मौजाद रहेको बताए । तर यी सेवा विस्तार गरी भामचौर लगाएतका दुर्गम ठाउँसम्म पुर्‍याउन असहज भइरहेको बताए । कार्यक्रममा सहभागी सुर्मा गाउँपालिका स्वास्थ्य प्रमुख लक्ष्मीराज जोशीले स्थानीयको हेलचेक्र्याइँका कारण सङ्क्रमण समुदाय स्तरमा फैलिएको बताए । उनले पालिकामा आइसोलेसन सेन्टर भएपनि अक्सिजन सिलिन्डर नभएको जानकारी दिए । जोशीले एउटा मात्रै अक्सिजन सिलिन्डर रहेको बताउँदै पीपीइ, गन थर्मोमिटर र अक्सिमिटरको व्यवस्था गरिदिन समेत अनुरोध गरेका छन् । खप्तडछान्ना गाउँपालिका स्वास्थ्य प्रमुख लभराज भट्टराईले जयपृथ्वी पछि छान्नामा सङ्क्रमितको संख्या जिल्लामै दोस्रो उच्च रहेको बताए । उनले तमैलमा हेल्पडेस्कका साथै कालुखेतीको खापरदेव क्याम्पस, गढराया, लामातोलामा आइसोलेसन सेन्टर विस्तार गर्नुपर्ने बताए । स्वास्थ्य सामाग्री सहित अहिले पालिकामा सिटामोलको समेत अभाव हुन थालेको उनले बताएका छन् । जनपृथ्वी नगरपालिका स्वास्थ्य प्रमुख जनक सिंहले कोभिडका बिरामीले समाजबाट बहिस्कार हुने डरले लक्षण लुकाउने गरेको बताएका छन् । अहिले पालिकाले चेतना फेलाउने, कन्ट्रयाक्ट ट्रेसिङ गर्ने लगाएतको काम गरिरहेको बताए । भर्चुअल माध्यमबाट भएको उक्त संवाद कार्यक्रम जापानबाट रमेश थापा र अमेरिकाबाट बिष्णु जोशीले सञ्चालन गरेका थिए। चार लाख रकम संकलन’विश्व भरीका बझाङी एक होऔँ’ भन्ने नाराका साथ कोभिड – १९ को महामारीसँग जुध्न बझाङ जिल्लाका अस्पताल र स्वास्थ्य चौकीहरूमा औषधी, अक्सिजन लगाएतको व्यवस्था गर्न सुरु भएको अभियानमा सहयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । विश्वभर छरिएर बसेका बझाङ्गीहरूले सहयोग गर्ने प्रतिबद्धता पनि जनाइरहेका छन् । हालसम्म यो अभियानमा ५० जना भन्दा बढीबाट चार लाख रुपैयाँ संकलन गरिएको बताइएको छ । जुन २० तारिकसम्म करिब १० लाख संकलनको लक्ष्य राखिएको बताइएको छ । संकलन भएको उक्त रकमबाट आवश्यकता र माग अनुसार बझाङ जिल्लाका स्वास्थ्य संस्थाहरुमा अक्सिजन, पीपीइ, गन थर्मोमिटर, अक्सिमिटर लगाएत स्वास्थय सामग्री खरीद गरेर हस्तान्त्रण गरिने नेपालका लागि सम्पर्क व्यक्ती अर्जुन गिरीले जानकारी दिए ।