NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

खेतबारीमा नै कुहिन थाल्यो तरकारी

चितवन । निषेधाज्ञाका कारण खेतबारीमा उत्पादन भएको तरकारीले मूल्य नपाउँदा र बिक्री समेत कम हुन थालेपछि किसान समस्यामा परेका छन् । पछिल्लो समय यसको बिक्री वितरण न्यून भएपछि खेतबारीमा नै कुहिन थालेको छ । तरकारी बिक्री गर्ने बेला निषेधाज्ञा जारी भएपछि किसान चिन्तित बनेका हुन् । बारीको तकारी टिपेर बजार पुर्याउदा लाग्ने खर्च समेत नधान्ने किसानहरु गुनासो गर्दछन् । जिल्ला ताजा तरकारी फलफूल उत्पादक सहकारी संघ चितवनका सचिव रामचन्द्र रेग्मीका अनुसार सोमबार बजारका करेला प्रतिकेजी रु पाँचमा पनि बिक्री गर्न मुश्किल परेको थियो । गत चैतको पहिलो हप्ता सो तरकारी प्रतिकेजी रु १ सय २० मा बिक्री भएको थियो । अहिले तनेबोडी प्रतिकेजी रु १० मा बिक्री हुने गरेको छ । यसको पहिलेको मूल्य रु १ सय २० नै थियो । उनका अनुसार रु ९० मा बिक्री भएको घिरोला अहिले प्रतिकेजी रु २५, रु ८५ मा बिक्री भएको रामतोरी रु १५ मा समेत बिक्री गर्न कठिन छ । रु ५ मा झरेको गोलभिँडा रु २५ सम्ममा बिक्न शुरु भएको छ । रु १० मा बिक्री हुन नसकेको भेन्टा रु १५ सम्ममा बिक्न थालेको उनले जानकारी दिए । चिचिण्डा बिगतमा झै रु २० हाराहारीमा बिक्री भएको छ । नारायणगढ स्थित तरकारी तथा फलफूल स्थलमा निषेधाज्ञा जारी भएपछि दैनिक दुईदेखि तीन टन तरकारी बिक्रीहुन नसकेर खेरा जाने गरेको बताइएको छ । तरकारीले उचित मूल्य नपाउँदा जिल्लाका किसान चिन्तित छन् । भरतपुर महानगरपालिका २६ मा मामा भान्जा कृषि फर्म सञ्चालन गर्दै आएका सुनिल गुरुङ्ले बजारमा उचित मूल्य पाउन नसकेको गुनासो गरे । उनको बारीमा अहिले लौका, करेला, तनेबोडी, स्टिकलेस बोडी, सिमि र घिरौला रहेका छन् । उनले भने, – ‘दैनिक १ देखि १ दशमलब ५ टन तरकारी बजारमा जान्छ । पहिलेको भन्दा आधा पनि मूल्य परेको छैन ।’ अघिल्लो वर्षको लकडाउनका कारण मारमा परेका किसान यस वर्ष पनि घाटा बहोर्नु परेको जानकारी दिए । खद्रौलीमा सुवेदी कृषि फर्म सञ्चालन गर्दै आएका सुभद्रा सुवेदीले किसानसँग अहिले नोक्सानीको हिसाव गर्नु वाहेकको विकल्प नरहेको बताए। उनले भने – ‘स्थानिय प्रशासनले हाटवजारहरु बन्द गरिदिदाँ र बजारसम्म पुर्याउन कठिन हुँदा उचित मूल्य पाउन सकिएन ।’ निषेधाज्ञा अघि तरकारी लिनका लागि व्यवसायी खेतबारीमा नै आउने गरेको भए पनि अहिले बन्दाबन्दीका कारण व्यवसायी आउन छोडेको उनको गुनासो छ । अहिले बारीमा गोलभेडा, काँक्रो, फर्सी, लौका, बोडी, करेला, खुर्सानी, रामतोरी, भेन्टा लगायतका तरकारी बजार लैजाने अवस्थामा छन् । कृषि ज्ञानकेन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लामा उत्पादित तरकारीको बजार भाउ नपाउने अवथा रहेको भए पनि क्रमिक रुपमा सुधार हुँदै जाने बताए । बन्दाबन्दीका कारण कृषककोबाट तरकारी उठ्न नसकेको र कुहिएर जान थालेको उनले जानकारी दिए । जिल्लामा वार्षिक ७ हजार ५ सय हेक्टरमा तरकारी खेती हुँदै आएको छ । यस समयमा दुई हजार ४ सय हेक्टर क्षेत्रफलमा तरकारी लगाइँदै आएको छ । वार्षिक रुपमा जिल्लामा एक लाख मेट्रिकटनको हाराहारीम उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । व्यवसायीले यहाँबाट पश्चिममा धनगढी र पूर्वमा बिर्तामोडसम्म तरकारी लैजान्थे । अहिले कोहोलपुर पश्चिम र हेटौडा पूर्व तरकारी जान सकेको छैन । तरकारी यात्रुवाहक बसको छतमा राखेर पठाइन्थ्यो । अहिले सार्वजानिक यात्रुवाहक बस नचले पछि तरकारी पठाउन नसकिएको व्यवसायीको भनाई छ । स्थानीय स्तरमा आफ्नै उत्पादन हुने मौषम भएकाले पनि खपत कम छ । निषेधाज्ञाले होटल, रेष्टुरेन्ट बन्दसंगै भोजभतेर नहुँदा तरकारीको खपत समेत घटेको छ ।