NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अन्तर्राष्ट्रियस्तरका खेलकूद पूर्वाधार निर्माणमा गण्डकीको प्राथमिकता

पोखरा । गण्डकी प्रदेश सरकारले खेलकूद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सोमबार प्रदेशसभामा प्रस्तुत गर्दै युवा तथा खेलकूदतर्फ खेलकूदको विकासका लागि अन्तर्राष्ट्रिय स्तरका खेलकूद पूर्वाधार निर्माणमा जोड दिइने बताए । यसैगरी खेलकूदको विकासका लागि गण्डकी प्रदेश खेलकूद परिषद् र जिल्ला खेलकूद विकास समितिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सरकारको योजना छ । प्रदेश सरकारले प्रदेश खेलकूद परिषद् र ११ वटै जिल्लामा जिल्ला खेलकूद समितिका अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गरेको छ । गण्डकी प्रदेशमा यसअघि तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गत वर्ष कोरोनाका कारण आयोजना हुन नसकेकामा आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना सरकारको छ । राष्ट्रिय खेलकूदका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्ष भित्रमा फुटबल रङ्गशाला सम्पन्न गर्ने योजना संघ सरकारको बजेट कार्यक्रममा परेको थियो । प्रदेश सरकारले युवाको सीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याइने मन्त्री गुरुङले जानकारी दिए । सरकारले देश तथा विदेशमा कोभिड–१९ लगायतका कारणले रोजगारी गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्न र स्वरोजगारी बढाउन उद्यमशीलता प्रवद्र्धन, बिउपुँजी, सहुलियतपूर्ण ऋण लगायतका कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।