NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कालोकोटधारीले न्यायालयमा गरेको हस्तक्षेप आपत्तीजनक : प्रधानमन्त्री

काठमाडौँ । संबैधानिक इजलासमा न्यायाधीश छनौटबारे कानून व्यवसायीहरुले प्रश्न उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित बनेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि शंका गर्दै कानून व्यवसायीहरुले प्रश्न उठाएका छन् । प्रधानन्यायाधीशको स्वविवेकिय अधिकारमा समेत कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुले हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ती जनाएका हुन् । पार्टीको एक कार्यक्रममा सहभागी भएका ओलीले वकिलहरुमा दम्भ र आफूहरुले जे भन्यो त्यस्तै फैसला हुनुपर्छ भन्ने दम्भ पलाएको आरोप लगाए । न्यायीक स्वतन्त्रताको वकालत गर्ने कानून व्यवसायीहरुलाई पढेर सुनाउ भनेको निर्णय सुनाउने न्यायाधीश चाहिएको भन्दै उनले भने, ’’उहाँहरुले लेखेर दिएको फैसला पढीबाची सुनाउने बाहेकको न्यायाधीश मान्न छाड्नुभयो ।’’ यसले न्यायालयको विरासत गुम्ने चेतावनी समेत दिए । कालोकोटधारी केही व्यक्तिले न्यायालयमा अनावश्यक हस्तक्षेप गरेर न्यायमूर्तिको मान मर्दन गरिरहेका छन्, यसले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँछ ख्याल गर्नुपर्छ । यस्तै प्रधानमन्त्री ओलीले संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुप्रति पनि आक्रोश पोखेका छन् । आफ्नोपालामा केही गर्न नसकेकाहरु अहिले फुर्सदमा न्यायालयको कामकारबाहीमा प्रभाव पार्न खोजेको उनको आरोप छ ।