NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइँदै

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको छ । कोरोना संक्रमितको संख्यामा लगातार गिरावट आउन थालेकाले जारी कडा निषेधाज्ञालाई केही खुकुलो बनाइने भएको हो । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् । पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर कोरोनाको ग्राफ विश्लेषण गरी थप निर्णय लिने बताए । पछिल्लो पटक खाद्य पसलहरुमा समेत लगाइएको प्रतिबन्धले भिड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरु पुगेका छन् । अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी छ । कोरोना संक्रमणको दर उच्च भएपछि उपत्यकामा शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल संक्रमण दर केही घटेको देखिन्छ । यस्तै परीक्षण दर पनि पहिलेको दरमा आधा घटाइएको छ । दैनिक २३ हजारसम्म पुगेको कोरोना परीक्षण अहिले करिब १० हजारको हाराहारीमा छ । मृत्युदरमा भने केही सुधार आएको छ । करिब ढाइसयमा पुगको मृत्युको संख्या अहिले एक सय आसपासमा छ ।