NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

चीनले अनुदानमा दिएको आठ लाख डोज भेरोसेल काठमाडौं आइपुग्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घोषणा गरेको १० लाख डोज खोपमध्ये आठ लाख डोज भेरोसेल खोप मंगलबार नेपाल आइपुगेको छ । नेपाल वायूसेवा निगमको वाइडबडी जहाजले अनुदानमा उपलब्ध उक्त खोप मं)गलबार ल्याएको हो । खोप लिनका लागि निगमको जहाज सोमबार राति साढे ११ बजेतिर बेइजिङ गएको थियो । खोप निगमको वाइडबडी विमान एअर बस ३३० ल्याएको हो । चीनका राष्ट्रपति सी जिनपिङ्गले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग गएको बुधबार भएको टेलिफोन वार्ताको क्रममा १० लाख मात्रा खोप उपलब्ध गराउने बताएका थिए । सोही प्रतिवद्धता अन्तर्गतको खोप मंगलबार ल्याइएको हो । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा अत्यावश्यक अरु स्वास्थ्य सामग्रीको सहयोग जुटे पनि खोपको भने अभाव रहँदै आएको छ । तर सरकारले विभिन्न देशसँग खोप सहयोगका लागि औपचारिक रुपमै आग्रह गरिएको बताएको छ । अमेरिका तथा बेलायतलाई खोप सहयोगका लागि राष्ट्रपतिकै तर्फबाट पत्र पठाइसकिएको छ । राष्ट्रपतिले हालसम्म पाँच देशका राष्ट्रपतिलाई पत्राचार गरेरै खोप सहायताका लागि अनुरोध गरिसकेकी छन् ।