NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोनामुक्त भएपछि पूर्वराजा ज्ञानेन्द्रले भने, ‘देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं’

काठमाडौं । कोरोना संक्रमणबाट पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाह निको भएका छन् । कोरोनामुक्त भएपछि एक भिडियो जारी गर्दै उनले आफूहरुको स्वास्थ्यलाभको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् । साथै यस महामारीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र सामाजिक कार्यकर्ताहरुलाई सम्झिँदै आभार व्यक्त गरेका छन् ।आफूहरु दुवै जना अहिले पूर्ण रुपमा स्वस्थलाभको अवस्थामा रहेको पनि भिडियोमार्फत जानकारी दिएका छन् । साथै उनले कोरोना महामारीले निम्त्याएको समस्याप्रति आफूहरु चिन्तित भएको पनि उल्लेख गरेका छन् । शाहले भिडियोमा भनेका छन्, ‘अहिले हामी दुवै पूर्ण स्वास्थ्यलाभको क्रममा छौं । तर, देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं ।’ हरिद्वारमा सम्पन्न महाकुम्भ मेलामा सहभागी भएर फर्किएपछि पूर्व राजा शाह र उनकी पत्नी कोमललाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोमलको अवस्था गम्भीर बने पनि अहिले उनी पूर्ण रुपमा स्वस्थ बनेकी छन् । शाहले कोरोना नियन्त्रणका लागि नेपाल आफ्नैको संकल्प र बाह्य सहयोगको आवश्यकता पनि आवश्यक रहेको औंल्याएका छन् । यस्तो छ, उनले भिडियोमार्फत जारी गरेको वक्तव्य हाम्रो स्वास्थ्यबारे चिन्ता चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति आभार व्यक्त गर्दै यस महामारीमा दिनरात आफ्नो दायित्व र मानविय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरुमा हामी अन्तरआत्मादेखि धन्यवाद दिन चाहान्छौं । अहिले हामी दुवै पूर्ण स्वास्थ्यलाभको क्रममा छौं । तर, देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं । महामारीको प्रक्रिया जारी छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरिय सहयोगको आवश्यकता पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि धन्यवाद दिन चाहान्छु । म तपाईंहरु सबैसँग सुरक्षित, सावधान तथा स्वस्थ्य रहन आग्रह गर्दछु । उपचारको क्रममा रहनुभएका सबै नेपालीहरुको शिघ्र स्वास्थ्यलाभको संगै यो महामारीका जिवन गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दछु । श्री पशुपतिनाथले ती सबै परिवारमा धैर्य धारणको लागि शक्ति प्रदान गरुन् । जय नेपाल !!