NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

छत्रपाटी चिकित्सालयलाई महानगरले दियो २ थान भेन्टिलेटर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार छत्रपाटी निःशुल्क चिकित्सालय (महानगरको विशेष कोभिड अस्पताल) लाई थप २ थान भेन्टिलेटर प्रदान गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्य तथा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तरण गरेका हुन् । यसअघि जेठ ८ गते भीजी ७० मोडलका २ वटा भेन्टिलेटर दिइएको थियो । यी भेन्टिलेटर महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका थिए । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरको अनुदानमा अस्पतालले खरिद गरेको हो । जर्मनमा उत्पादन भएका यी उपकरणको मूल्य प्रतिगोटा करीब २६ लाख ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ । प्रमुख शाक्यले अहिले कोभिड नियन्त्रणको अभियानमा समुदायदेखि सरकारसम्मका सबै संयन्त्र एकै ठाउँमा भएको बताए । संक्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिनेमा महानगर केन्द्रीत रहेको बताउदै प्रमुख शाक्यले भने, – ‘कोविड नियन्त्रणका लागि कम लगानीमा धेरै प्रतिफल प्राप्त गर्न महानगरले सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य गरेको छ । यसबाट संक्रमणमा परेका हरेक व्यक्तिले सहज उपचार पाउन सक्ने हामीले अपेक्षा गरेका छौँ ।’ संक्रमण भएका बिरामीको व्यवस्थापनका लागि महानगरले गरिरहेको कामको बारेमा जानकारी दिँदै उनले भने, ‘महानगरका मातहतमा रहेका १४ वटा आइसोलेसन सेन्टरका ५ सय ७४ वटा वेडमध्ये आज विहानसम्ममा १ सय ४३ वेडमा विरामी छन् । बाँकी खाली नै छन् । आवश्यक पर्नेले आफ्नो वडाध्यक्षलाई सम्पर्क गरेर निःशुल्क खाना र उपचारसहितको सेवा लिन सक्नुहुनेछ ।’ अस्पतालमा अहिले कोभिड भएर अक्सिजन दिनुपर्ने ५ जना विरामी एचडीयूमा र ९ जना विरामी साधारण वेडमा उपचार गराइरहेका छन् । महानगरको कोभिड अस्पतालका बारेमा जानकारी दिँदै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भने, ‘कोविड उपचारका लागि नर्सिङ् स्टाफहरु धेरै आवश्यक पर्ने भयो । यसका लागि हामीले अनुभवी नर्सहरुलाई साथमा लिएका छौँ ।’ अस्पताललाई एनेस्थेसिया मेसिन प्राप्तआजै अरनिको समाजले अस्पतालाई १ थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य झण्डै २६ लाख ५० हजार रुपैयाँ हो । यी सामाग्री तथा उपकरण नेपाल र चीनको दौत्य सम्बन्धबाट प्राप्त भएका हुन् । सामान प्रदान गरिसकेपछि बोल्दै समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले भने,‘चीनबाट महामारी नियन्त्रणमा सघाउन निरन्तर सहयोग प्राप्त भइरहेको छ ।’