NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

केपी ओलीलाई पोलिट्ब्युरो सदस्य प्रदीप नेपालले दिए ‘तानाशाहको उपमा’

काठमाडौं । नेकपा एमाले पोलिटबयूरो सदस्य प्रदीप नेपालले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तानाशाहको उपमा दिएका छन् । उनले एक पत्रिकामा लेख लेख्दै अध्यक्ष ओली जनकार्यबाट नआएको भन्दै अन्तरपार्टी जनवाद नदिने गरेको बताए । नेपालले लेखमा भनेका छन्, ‘पार्टी चलाउनु र सरकार चलाउनु भिन्न कुरा हुन् । अध्यक्ष ओली जनकार्य गरेर आउनु भएको होइन । त्यसैले उहाँ अन्तरपार्टी जनवाद दिनु हुन्न ।’ नेपालले जति कोशिस गरे पनि ओली माक्र्सवादी हुन नसक्ने दावी गर्दै त्यसको अपेक्षा नगर्न पनि सुझाव दिएका छन् । साथै उनले ओलीलाई स्टालीनवादीको संज्ञा दिँदै कम्युनिस्ट पार्टी तानाशाह नै भएको दावी गरेका छन् । उनले अघि भनेका छन्, ‘उहाँ माक्र्सवादी पनि हुन सक्नु हुन्न जति कोसिस गरे पनि उहाँबाट माक्र्सवादी हुने अपेक्षा नगरे हुन्छ । उहाँ स्टालिनवादी हुनुहुन्छ । स्टालिनकालीन विकास विश्वको नमूना हो । तर, कम्युनिस्ट पार्टीमा उहाँ साँच्चिकै तानाशाह हो । केपी ओलीलाई पनि यस्तै मान्छे मान्न सकिन्छ ।’ उनले ओली तानाशाह नभएको भए चुच्चे नक्सा पनि नछापिने जिकिर गरेका छन् । एउटा चुृच्चे नक्साकै कारण कुमाउ गढवालसम्म ग्रेटर नेपालको चर्चा भएको सत्यलाई कसैले बिर्सन नहुने पनि नेपालले बताएका छन् । लेखमा नेता नेपालले भनेका छन्, ‘त्यत्तिकै कसैले छाप्न नसकेको चुच्चे नक्सा छापिएको हैन नि  ! पछि त्यो चुच्चो लुकाइयो भनिन्छ । होला पनि । सबै मान्छे मदन भण्डारी हुँदैनन् क्या रे  ! तर एउटा चुच्चे नक्साले ग्रेटर नेपालको चर्चा भएको सत्यलाई बिर्सन भने पाइँदैन । अब ग्रेटर नेपालको चर्चा दार्जिलिङ र कुमाउ गढवालमा समेत चल्न थालेको छ । यो निकै राम्रो कुरा हो ।’ नेता नेपालले यस आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको बचाउ पनि गरेका छन् । विपक्षीहरुले सरकारले महत्वाकांक्षी बजेट ल्याएकोमा विरोध गरेको भन्दै नेता नेपालले अब महत्वकांक्षी कार्यक्रम नहुने हो त्यस्तो सरकार नेपालीलाई नचाहिएको जिकिर गरेका छन् । नेता नेपालले भनेका छन्, ‘बजेटमा समेटिएका कार्यक्रमहरू कार्यान्वयन गर्न सरकारको काम हेर्ने हो । महत्वाकांक्षी भनेर ज–जसले आलोचना गर्नु भयो र महत्वाकांक्षा नभएको, पोहोरभन्दा दश प्रतिशत बढी भन्ने पार्टी अब सरकार चलाउने सपना नदेखे हुन्छ । अधिकतम कार्य गर्नका लागि महत्वाकांक्षी योजना र काम नगर्ने हो भने त्यस्तो सरकार अब नेपालीलाई चाहिएको छैन ।’ पार्टीभित्रको गुटगत लडाईमा नेपाल ओली पक्षमै मौन छन् । उनी अर्थमन्त्री विष्णु पोडेललाई भूमिगत बनाउने नेता हुन् । पौडेलले नेपाललाई आफ्ना गुरु मान्ने गरेका छन् । यस्ताे छ नेता नेपालले गाेरखापत्रमा लेखेकाे लेख