NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बेलायतलाई नेपालको पत्र, नयाँ भेरियन्टबारे जानकारी माग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा उत्पन्न भएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको विषयलाई खण्डन गरेको छ । यतिबेला बेलायत र युरोपेली सञ्चारमाध्यममा नेपालमा भेटिएको कोरोना भाइरसको नयाँ प्रजातीका कारण उनीहरूको विदेश भ्रमण प्रभावित भयो भन्ने किसिमका समाचार सम्प्रेषण भइरहेका छन् । ती सञ्चारमाध्यमहरूमा यतिबेला नेपाली भेरियन्ट युरोपका मुलुकहरूमा फैलिसकेका कारण युरोपबाट बेलायतमा विदेश भ्रमणका लागि जान रोक लगाउनुपर्ने समाचार प्राथामिकताका साथ सम्प्रेषण भएका छन् । डेलिमेलमा सम्प्रेषण भएको समाचारका अनुसार यतिबेला बेलायतका वैज्ञानिकहरूले त्यहाँका मन्त्रीहरुलाई सचेत गराइसकेका छन् भने अहिले भइरहेको खोप पनि प्रतिरोधात्मक हुनेबारे डर फैलिएको छ । यस्तो खबर विश्वव्यापी रुपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले बेलायतको स्वास्थ्य नियामक निकाय आईएचआरलाई नेपालमा नयाँ भेरियन्टबारे छापिएको समाचारको खण्डन गर्दै पत्र पठाएको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले यस्तो समाचार कसरी फैलियो भन्नेबारे प्रश्नको उत्तर उतैको निकायबाट कुरिरहेको बताए । मन्त्रालयसँगै नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले पनि नेपालमा नयाँ प्रजातीको भेरियन्ट नभेटिएको बताइसकेको छ । उसका अनुसार नेपालमा हाल अल्फा(सुरुको भेरियन्ट), डेल्टा(भारतीय भेरियन्ट) र काप्पा(बेलायती भेरियन्ट) मात्रै पत्ता लागेको जनाएको हो ।