NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेकपा विभाजन प्रभाव : आफ्नै गाउँपालिका कार्यालयमा अध्यक्षलाई प्रतिबन्ध !

सुर्खेत । नेकपा एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेकपा एमाले विघटन भएसंगै स्थानीय तहका जनप्रतिनिधि बिच पनि फाटो देखिएको छ । नेकपाको विघटनपछि डोल्पाको मुड्केचुला गाउँपालिकामा एमाले र माओवादीका जनप्रतिनिधिबीच विवाद् बढेको हो । जनप्रतिनिधि बीचको राजनैतिक विवादमा प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठसमेत मुछिएका छन् । प्रशासकिय अधिकृतले एमालेका जनप्रतिनिधिहरूको पक्षमा उभिए पछि माओवादीबाट निर्वाचित गाँउपालिकाका अध्यक्ष दत्तबहादुर शाहीलाई गाउँपालिकामा प्रतिबन्धमा परेका छन् । ‘एक महिनादेखि गाउँपालिकाको कार्यालयसमेत गएको छैन,’ अध्यक्ष शाहीले भने, ‘एक महिनादेखि कार्यालयमा पनि जान दिएका छैनन्, मलाई गाउँपालिकामा प्रतिबन्ध नै लगाइएका छन् ।’ प्रशासकिय अधिकृतले एमालेका जनप्रतिनिधि सँग मिलेर आफ्ना सबै काम तथा योजनाहरू रोकिदिएको पालिका अध्यक्षको आरोप छ । ‘गाउँपालिकामा म अल्पमतमा छु, हाकिमले एमालेले जे–जे भन्छ, त्यही गर्छन्,’ उनले भने, ‘माओवादीलाई समर्थन गर्ने कर्मचारी पनि हटाउने प्रयास भइरहेको छ, हाकिम र एमाले मिलेर मलाई सबै ठाउँमा प्रतिबन्ध लगाइरहेका छन् ।’ एमालेले हाकिमको सुरक्षाका लागि १० जना कार्यकर्ता खटाएको र आफूलाई गाउँपालिकाको कामकाजमा प्रतिबन्ध लगाएको अध्यक्ष शाहीले बताए । एमालेबाट निर्वाचित उपाध्यक्ष सविताकुमारी रोकायाको कमाण्डमा वडा नम्बर ४ का वडाध्यक्ष जगबहादुर बुढा, उपाध्यक्षका श्रीमान लंकमान बुढा, लोकेन्द्रबहादुर शाही, लालमन बिक, अमरबहादुर शाही, राजबहादुर शाहीलगायत १० जना एमालेका कार्यकर्ताहरू हाकिको सुरक्षार्थमा खटिएको उनको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने अध्यक्षले लगायका आरोप निराधार भएको बताए । ‘म राजनीति गर्न आएको होइन, कर्मचारी भएर काम गर्न आएको हुँ’, श्रेष्ठले भने, ‘बहुमत पक्षको निर्णय मान्दा एमालेको काम गरेको जस्तो देखिएको हो ।’ गाउँपालिका अध्यक्षले गरेका गैर कानूनी र अबैध निर्णयलाई नमान्ने उनको जिकीर छ । यद्यपी एमालेकै जनप्रतिनिधिले बोलाएर गाउँपालिकामा आएको उनले स्वीकार गरेका छन् । उनले बहुमतको निर्णय मान्ने र कानुन अनुसार काम गर्ने बताए । मुड्केचुलामा केही दिनयता सामाजिक सुरक्षा भक्ता वितरणको विषयलाई लिएर अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद समेत बढेको छ । अधिकृत श्रेष्ठले अब कोरोना संक्रमणको अवस्था सहज भएलगत्तै सामाजिक सुरक्षा भक्ता वितरण हुने बताए । गाउँपालिकामा माओवादी र एमालेका जनप्रतिनिधि मात्र छन् । १८ सदस्यीय कार्यपालिकामा एमालेमा १२ र माओवादीका ५ जना जनप्रतिनिधि छन् । त्यस्तै गाउँपालिकामा एमालेबाट २५ सदस्य र माओवादीबाट १९ जना जनप्रतिनिधिहरू रहेका छन् ।