NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

फेवातालका डुङ्गा चालकलाई राहत वितरण

पोखरा । पोखराको फेवातालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुङ्गा चालकहरुलाई रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ । कोरोना सङ्क्रमणको कारण जारी निषेधाज्ञाले पेशा सङ्कटमा परेपछि बिहान बेलुकाको छाक टार्नका लागि समस्यामा परेका चालकहरुलाई राहत वितरण गरिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । ‘लामो समय भयो, निषेधाज्ञा छ, काम गरेर विहान बेलुकाको छाक टार्न समस्या परेको भन्ने थाहा पाएपछि राहत सामग्री वितरण गरेका हौ’, – उनले भने । बरालका अनुसार डुङ्गा व्यवसायी समितिको समन्वयमा आर्थिक अवस्था कमजोर भएकाहरुको पहिचान गरी शुक्रबार ८५ जनालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो । थप समस्यामा परेका ३२ जनाको पनि नाम आएकाले उनीहरुलाई शनिबार बिहान वितरण गरिने बरालले जानकारी दिए । आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख एवम् पर्यटन व्यवसायी नरेश भट्टराईले एक परिवारलाई २५ सय बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरीएको जानकारी दिए । राहत लिएर जाँदै गर्दा एक डुङ्गा चालकले जीविकोपार्जनमा समस्या भइरहेको समयमा पाएको सामग्रीले क्षणिक राहत दिएको जनाउँदै आफ्नै पसिनामा डुङ्गा खियाएर दैनिकी चलाउने दिनको पर्खाइमा रहेको बताए । व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा ७७५ जति डुङ्गा चालक रहेका छन् । ती मध्ये चारसयले आफ्नै डुङ्गा चलाउँछन् भने बाँकीले अरुको डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका छन् ।