NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

जनशक्ति अभावमा आइसियु र भेन्टिलेटर थन्किए

कालीकोट । कालीकोट सदरमुकाम मान्ममा सञ्चालन गरिएको कोभिड–१९ विशेष अस्पतालमा स्थापना गरिएका सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन भएका छन् । दक्ष जनशक्तिको अभावमा सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन भएका हुन् । कोरोना महामारीको पहिलो चरण गत आर्थिक वर्षको भदौ महिनामा स्थापना गरिएको सघन उपचार कक्ष र भेन्टिलेटर चलाउन सक्ने दक्ष जनशक्ति नभएका कारणले सञ्चालनमा आउन सकेका छैनन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा स्थापना गरिएका दुई सघन उपचार कक्ष र एक भेन्टिलेटर सञ्चालन हुन सकेका छैनन् । जिल्लामा नै सघन उपचार कक्ष र भेन्टिलेटर भए पनि कोरोनाका जटिल बिरामीलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक/एक इन्टरनल मेडिसिन र बेहोस बनाउने चिकित्सक (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताए । जिल्लामा विद्युत्को नियमित आपूर्ति नहुँदा पनि सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या भएको निमित्त प्रमुख महतको भनाइ छ । ‘सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याउन केही समय अझै लाग्ने देखिएको छ’, उनले भने, – ‘जनशक्तिको व्यवस्थापनसँगै विद्युतको वैकल्पिक माध्यम खोजेर सञ्चालनमा ल्याउने छौँ ।’ कालीकोटमा हालसम्म सात हजार ६२२ मा कोरोना परीक्षण गर्दा एक हजार ३४१ जनामा पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यसमध्ये एक हजार २३ जना निको भएर डिस्चार्ज भएका र ३१५ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको तथा तीनजनाको हालसम्म मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।