NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

काठमाडौं महानगरले जेठ २५ गतेदेखि ६० देखि ६४ बर्ष उमेर समूहकालाई वडा स्तरमा भेरोसेल खोप दिने

काठमाडौँ । काठमाडौं महानगरले आगामी जेठ २५ गतेदेखि ६० बर्षदेखि ६४ बर्षका समूहकालाई वडास्तरमा कोरोना विरुद्धको खोप दिने भएको छ । त्यसको लागि खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन काठमाडौँ महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले वडा खोप समन्वय समितिलाई पत्र पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा आज जिल्ला स्वास्थ्य कार्यालय र विभागविच बैठक बसेर हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो । यो उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्र पङ्तिमा खटिनेहरुका लागि त्यसपछि ६५ बर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ बर्षदेखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिएको थियो । यी व्यक्तिहरुलाई उपलब्धताका आधारमा कसैलाई कोभिसिल्ड –भारतीय खोप) र कसैलाई भेरोसेल खोप दिइएको हो । यसरी खोप पाएकामध्ये धेरैले दुवै डोज लगाएका छन् भने कोभिसिल्डको पहिलो मात्रा लगाउने केहीले दोस्रो मात्रा लगाउन पाएका छैनन् । यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करीब १ लाख व्यक्तिले लगाएका थिए ।