NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नेपाल मेडिकल कलेज खरिद गर्न तीन व्यापारीको होडबाजी

काठमाडौं । नेपाल मेडिकल कलेज (एनएमसी) प्रा.लि. शिक्षण अस्पताल जोरपाटी अत्तरखेल खरिद गर्न तीन व्यापारीहरुबीच होडबाजी भएको छ । मेडिकल व्यापारीहरु डाक्टर सुनिल शर्मा, बसुरुद्दिन अन्सारी र उपेन्द्र महतोबीच होडबाजी भएको हो । नेपाल मेडिकल कलेज जोरपाटी यतिबेला विवादमा छ । लगानीकर्ताहरुबीचको बेमेलले नेपाल मेडिकल कलेजमा विवाद सिर्जना भएको हो । नेपाल मेडिकल कलेज जोपाटी राजदरवारका तत्कालीन निजी चिकित्सक सच्चेबहादुर पहाडी, अञ्जनीकुमार शर्माका पुत्रहरु क्रमशः डा. अनिल पहाडी, डा. सुनिल शर्मा, काठमाडौंको चाबहिलस्थित ओम अस्पतालका सञ्चालक डा. भोला रिजाल, डा. आनन्द श्रेष्ठलगायतलको समूहबाट सञ्चालित कलेज हो । यस कलेजमा एमबीबीएसमा मात्र वार्षिक १ सय २० जना विद्यार्थीहरु अध्ययन गर्छन । भोला रिजाल कलेजको अध्यक्ष र डा. राजेशकिशोर श्रेष्ठ मेडिकल डाइरेक्टर छन् । कलेजमा पहाडी, शर्मालगायतको ५० प्रतिशत र ओम अस्पतालवालाहरुको ५० प्रतिशत लगानी रहेको जानकार बताउँछन् । लगानीकर्ताहरुबीचको बेमेलले एनएमसीले ठूलै आर्थिक संकट झेलिरहेको स्रोतको भनाइ छ । पहाडी, शर्माहरु कजेल बिक्री गर्न चाहन्छन् । तर, ओम अस्पतालका लगानीकर्ताहरु बिक्री गर्न नहुने पक्षमा छन् । तर, ओम अस्पतालका समूहले पनि पहाडीहरुलाई उनीहरुको लगानी दिएर एकलौटी बनाउन सकेका छैनन् । नेपाल मेडिकल कलेज (एनएमसी) खरिद गर्न मेडिकल व्यापारीहरु डाक्टर सुनिल शर्मा, बसुरुद्दिन अन्सारी र उपेन्द्र महतोबीच चर्को प्रतिस्पर्धा । (केएमसी) काठमाडौं मेडिकल कलेज र (एनएमसी) नेपाल मेडिकल कलेज एकै पटक जस्तो स्थापना भएका हुन् । एनएमसी पुराना र प्रतिष्ठित मध्येकै मेडिकल कलेज हो । एनएमसीको बिक्रीका लागि केही समय अघि गोरखापत्र दैनिकमा विज्ञापन समेत प्रकाशित भएको थियो । एक वर्ष अघि मात्र केएमसी (काठमाडौं मेडिकल कलेज) खरिद गरेका डाक्टर सुनिल शर्मालाई बिक्री गर्ने सहमति भएपछि त्यो विज्ञापन प्रकाशित गरिएको थियो । एनएमसी आफूले खरिद गर्ने सहमति भएपछि गोरखापत्रमा विज्ञापन आएको केएमसीका अध्यक्ष डा. शर्मा बताउँछन् । ‘हामीले एनएमसी किन्न खोजेको हो । उपेन्द्र महतोले किन्न चाहेको पनि एनएमसी नै हो । हामीले किन्ने तय भएपछि उनी (सञ्चालक) हरुले गोरखापत्रमा विज्ञापन दिए । अनि नेशनल मेडिकल कलेजका वसुरुद्दिनजीहरु आए । हामी आउट भयौं’, डा. शर्मा नेपालवाचसँग भन्छन्, ‘फेरि बसुरुद्दिनलाई आउट गर्न उपेन्द्र महतोजी आए । त्यसपछि फेरि उपेन्द्रजीले नकिन्ने भए । बसुरुद्दिनजी अहिले पाइपलाइनमा छन् । उनको मिलेन भने हामीले लिन खोजेको हो । खासमा सुरुदेखि नै लिन खोजेको चाहिँ हामीले नै हो । झमेला भयो ।’ थप्छन्, ‘त्यहाँ दुई वटा ग्रुप छ । एउटा ग्रुपले बेच्न खोज्छ । अर्को ग्रुपले रोक्न खोज्छ । त्यस्तै छ, तिनीहरुको ।’ नेपाल मेडिकल कलेजका अध्यक्ष भोला रिजाल भने पार्टनरहरुबीच कुरा गरिरहेको र आन्तरिक रुपमै खरिद बिक्री गर्न विज्ञापन छापिएको बताउँछन् । कजेललाई पुरै बिक्री गर्न नखोजिएको उनको भनाइ छ । रिजालका अनुसार उनीहरुले ५/६ वर्षदेखि नै लगानीकर्ता खोजिरहेका छन् । ‘मकै भट्मास किन्न गए जस्तो कुरा गर्न आउँछन् । कुरा गर्न आउनेसँग नगर्ने कुरा पनि भएन’, डा रिजाल भन्छन्, ‘मेडिकल कलेजलाई हचुवाका भरमा दिने कुरा पनि भएन । विभिन्न व्यक्तिहरुसँग कुरा भइरहेको छ ।’