NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

आर्थिक प्रलोभनमा राउटेको अस्मिता लुटिँदै

सुर्खेत । ‘पैसा छोए पाप लाग्छ’ भन्ने मान्यता बोकेको कर्णाली प्रदेशको कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउने राउटे समुदायको अस्तित्व नै संकटमा पर्न थालेको छ । काठका समान बनाएर अन्नपात सँग साट्ने तथा जंगली जनावर खासगरी बाँदर मारेर खाने राउटेको अस्तित्व नै संकटमा परेको हो । छलछाम र जालझेल गर्नु हुदैन भन्ने मान्यता बोक्ने र आफूलाई ‘जंगलको राजा’ भनेर परिचय दिने राउटे समुदाय अहिले पैसा बिना चल्न नसक्ने अवस्थामा पुगेका छन् । पैसाकै कारण राउटे अहिले जाँड रक्सीमा बेचिन थालेका छन् । खासगरी राउटे समुदायका किशोरीहरु प्रभावित भएका छन् । आर्थिक प्रलोभनमा राउटे किशोरीहरुको अस्मिता लुटिँदैछ । जाँडरक्सी खुवाएर सभ्य समाजको हिमायती ठान्नेहरुबाट नै उनीहरुको अस्मिता खतरामा परिरहेको छ । हरेक नागरिकको सुरक्षाको जिम्मेवारी लिएको राज्य भने लोपउन्मुख राउटे समुदायको अस्तित्व संकटमा परिरहदा बेखबर छ । राउटेको सामाजिक, सांस्कृतिक, नैतिक तथा भौतिक असुरक्षा झन बढ्दै छ । एउटा छुट्टै पहिचान बोकेको राउटे समुदाय यतिबेला चरम संकटमा छ । राष्ट्रको सम्पत्तिका रुपमा संरक्षण र प्रवर्दन गर्नुपर्ने राउटे समुदाय यतिबेला मानिसहरुको टाईमपास गर्ने, टिकटक बनाउने र भाईरल गराउने साधन बनिरहेको छ । केही पैसाका लागि राउटेहरु टाईमपासको साधन बन्न विवश छन् । जसको ज्वलन्त उदाहरणका रुपमा सामाजिक सञ्जालमा आएको भिडियोलाई लिन सकिन्छ । नेपालकै लोपउन्मुख जाति अहिले सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाट स्थित भेरी नदी किनारामा बास बसेका छन् । सोही क्षेत्रमा राउटे समुदायका दुई युवती दुर्व्यवहारमा परेकी हुन् । गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुनले दुई राउटे युवतीलाई होटलमा लगेर रक्सी खुवाइ भिडियो बनाएर सामाजिक सन्जालमा आफैँ पोष्ट गरेका थिए । भिडियोमा होटल सञ्चालक पुनले राउटे युवतीमाथि यौनजन्य दुर्व्यवहार गरेको प्रष्ट देखिन्छ । सामाजिक सन्जालमा भिडियो भाइरल भएसँगै चौतर्फी दबाब बढेपछि प्रहरीले तीनजनालाई पक्राउ गरिसकेको छ । भत्ता दिएर दायित्वबाट तर्किदै सरकारछुट्टै भाषा संस्कृति, भेषभुषा तथा जंगली युगकै झल्को दिने गरी फिरन्ते अवस्थामा रहेको राउटेको संरक्षण र सम्बर्दन गर्ने मुख्य दायित्व राज्यको हो । तीनै तहका सरकारले यसका लागि एकिकृत योजना बनाएर राउटेको संरक्षणमा लाग्नु पर्ने हो । तर सरकारले स्थानीय सरकार मार्फत भत्ता दिएर आफ्नो कर्तव्यबाट तर्किदै गएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राउटेहरूको परिवारमा धेरै मदिरा सेवन हुने भएकाले राउटेको ज्यान गएको र मदिरा न्यूनीकरणसँगै अन्य सुरक्षाको लागि प्रहरी टोली खटाउने भन्दै आश्वासन दिएका थिए । यसैगरी मुख्यमन्त्री शाहीले राउटेका लागि प्रदेश सरकारले छुट्टै युनिट बनाउने पनि बताएका थिए तर यी कुनै काम भएका छैनन् । राउटे संरक्षण अभियन्ता तथा पत्रकार नगेन्द्र उपाध्याय सरकारकै लापरबाहीका कारण दुर्व्यवहारका घटना भइरहेको बताए । ‘सरकारले सबै ध्यान भत्तामै केन्द्रित गरेको देखिन्छ, उनीहरूको स्वास्थ्य तथा सुरक्षामा ध्यान नदिएका कारण समस्या आएको हो’, – उपाध्यायले भने । भत्ता भन्दा पनि उनीहरूको अधिकार, बाह्य व्यक्ति प्रवेश निषेध, राहत वितरण एकद्वार नीतिबाट गर्नुपर्ने जस्ता सुझाव सरकारलाई दिइएको भए पनि कार्यन्वयन नभएको उनले बताए । बरु सरकारकै जिम्मेवार व्यक्तित्व नै राउटे युवतीहरु संग मस्कीएर टिकटक बनाउने गरेको देखिएको छ । काठका भाँडाकुँडा तथा गुना बाँदरको शिकार गरेर जिविकोपार्जन गर्दै आएका राउटेलाई जथाभावी रुख काट्न पाउने अवस्था अहिले छैन् । जंगलमा शिकार गर्नका लागि पनि पहिले जस्तो सहज छैन् । जंगलमा शिकार नै पाउन सक्ने अवस्था छैन् । मादक पदार्थ र सुर्तिजन्य पदार्थ राउटे समुदायका लागि अपरिहार्य जस्तै बन्दा जसले पैसा दिन्छ उसैसँग नजिकनु राउटेको बाध्यता नै भएको छ । राउटेहरुले बनाउने काठका भाँडा र सामाग्री पनि पुरानो ढाँचाको हुनु, उनीहरुको सिप विकासमा ध्यान नदिनुले पनि राउटेको अस्तित्व संकटमा पर्दै गएको छ । राउटे समुदायले आगामी आर्थिक वर्षबाट प्रतिव्यक्ति ६ हजार पाउनेछन् । चालु आर्थिक वर्षमा उनीहरूले संघीय सरकारबाट तीन हजार र प्रदेशबाट दुई हजार गरी पाँच हजार पाइरहेका थिए । नेपालमा राउटेको जनसंख्या एकसय ३८ छ । दुर्वव्यवहार गर्नेलाई कडा कार्बाहीको मागराउटे समुदायका युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको प्रति विभिन संघसंगठनले बिरोध गरेका छन् । मानव अधिकार आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस सम्बन्धमा अनुगमन गरि स्थानीय तीन जना युवाहरुले ती युवतीलाई बाध्य बनाएर यौनजन्य क्रियाकलाप गरेको भन्दै आपत्ती जनाएको छ । ‘उक्त घटनाका कारण निज युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्नसक्ने अनुगमनमा पाइएको छ’ आयोगको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘प्रलोभनमा पारी यौनहिंसामा लगाइएका उल्लेखित दुई युवतीहरुलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको छ ।’ साथै, पीडित युवतीहरुको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न, उनहिरुको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धामार्फत दोषीलाई कानूनी कारबाहीको दायरमा ल्याउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । यस्तै राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराउँदै संरक्षणका गरिरहेको दैलेखको गुराँस गाउँपालिकाले विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई वास्तविकता छानविन गरि कानुन बमोजिम कारबाही गर्न माग गरेको छ । ‘फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लिल क्रियाकलाप गरेको भिडियो विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको प्रति यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’ गाउँपालिकाका अध्यक्ष खेमराज वलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘घटनाको वास्तविकता छानबिन गरी कानुनको दायरमा ल्याई हदैसम्मको कारबाहीका लागि जोडदार माग गर्दछौं ।’ यसैगरी नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद सचिवालयले आदिवासी राउटे समुदायको युवतीहरुमाथि भएको यौन दुव्र्यवहारमा सलंग्न अभियुक्तलाई कडा कारबाहीको माग गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै सत्ता र शक्तिको दुरुपयोग गर्दै अनुसन्धान कमेजोर बनाई अभियुक्तहरुलाई उन्मुक्ति दिनेजस्ता कार्य राज्य संयन्त्रबाट नगरि कारबाहीको दायरमा ल्याउन माग गरेको हो ।