NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नेतृत्व हस्तान्तरण तयारीमा प्रधानसेनापति

अवकाश पाउनु ९५ दिनअघि नै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया थालनी गरेका छन् । सैनिक ऐनलाई संशोधन गराएरै भए पनि आफ्नो पदावधि लम्बाउन सक्ने हल्ला चलिरहेका बेला प्रधानसेनापति थापाले अबको बाँकी दिन नेतृत्व हस्तान्तरणमा केन्द्रित हुने बताए । आफ्नो एक हजार दिन पूरा भएको अवसरमा सञ्चार माध्यमका प्रतिनिधिसँगको अन्तर्क्रियामा आइतबार प्रधानसेनापति थापाले भने, ‘आज बिहानैको कार्यक्रमदेखि नेतृत्व हस्तान्तरणको काम अघि बढाएको छु । सक्षम कमान्डरलाई नेतृत्व हस्तान्तरण गर्नेछु ।’ उनले साउन १५ गतेदेखि अवकाशअघिको एक महिने बिदा लिने पनि प्रस्ट पारे । प्रधानसेनापति थापाको तीनवर्षे कार्यकाल भदौ २४ गते सकिँदै छ । थापापछि भदौ २५ गतेबाट अहिले बलाधिकृत रथी तथा प्रधानसेनापतिको दोस्रो वरीयताका प्रभुराम शर्माले नेपाली सेनामा तीन वर्षका लागि नेतृत्व लिनेछन् । प्रधानसेनापति थापाले आफ्नो तीनवर्षे कार्यकालमा मुख्य गरी चारवटा क्षेत्रमा केन्द्रित काम भएको दाबी गरे । आफ्नो पहिलो काम सैनिक ऐन–२०६३ लगायत कानुन संशोधन गरेको उनको भनाइ छ । आफ्नो नेतृत्वमा लामो समयदेखि संगठनमा चर्चा हुँदै आइरहेको नेपाली सेनाको नयाँ ढाँचा तीन जोर एक अर्थात् थ्री प्लस वानमा अघि बढाएको पनि उनले बताए । ‘रणनीतिक र विकासको हिसाबमा सेनालाई नदीको बेसिनको आधारमा पूर्व कमान्ड, मध्य कमान्ड र पश्चिम कमान्ड तथा केन्द्रमा रणनीतिक हिसाबमा उपत्यका कमान्ड संरचनामा ढालिएको छ,’ उनले भने । पूर्वमा कोसी नदीको आधारमा पूर्वी कमान्ड, मध्यमा गण्डकी नदीको आधारमा गण्डकी कमान्ड र पश्चिममा कर्णाली नदीको आधारमा कर्णाली कमान्ड राखिएको हो । सेनामा यसअघि ७ प्रदेशमा ७ पृतना र एउटा उपत्यकामा पृतना गरी ८ पृतना थियो । थापाले आफ्नो तेस्रो महत्त्वपूर्ण काम सेनाको पुनःसंरचना भएको बताए । उनले अब तीन जोर एकको आधारमा सम्पूर्ण संगठनको पुनःसंरचना हुने प्रस्ट पारे । उनले सेनालाई कति संख्याभन्दा पनि सेनाको ‘राइट साइज’ कस्तो हो भन्ने मुख्य कुरा रहेको बताए । आफ्नो चौथो महत्त्वपूर्ण कामको रूपमा नेपाली सेनाको भिजन–२०३० रहेको उनको भनाइ थियो । प्रधानसेनापति थापाले काठमाडौं–तराई द्रुतमार्ग तोकिएकै समय २०८१ भित्र सम्पन्न भइसक्ने दाबी गरे । सरकारले आवश्यक बजेट अभाव नगरिदिए, कोभिड–१९ जस्तो संकट थप आइनपरे र सरकारका विभिन्न मन्त्रालय र क्षेत्रबाट सहयोग भइरहे तोकिएकै समयमा काम गरिने उनले बताए । सेनाको मुख्य काम मुलुकको रक्षा गर्नु रहेको भन्दै उनले सेना व्यवसायमा नलागेको दाबी गरे । ‘सेनाको एउटा सानो इन्जिनियरिङको टोलीले मुलुकको विकास निर्माणको काममा सहयोग गरेको हो । सुरक्षाका लागि सेना सधैं तयारी रहेको हुन्छ,’ उनले भने । नेपालमा मात्र नभएर द्रुतमार्ग जस्ता रणनीतिक पूर्वाधार निर्माण विश्वका विकसित मुलुक र छिमेकी मुलुकमा समेत सेनाले गरिरहेको उनले उदाहरण दिए । कान्तिपुर दैनिकमा खबर छ।