NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सुदूरपश्चिम कांग्रेस : आवश्यक परे भट्टलाई मत दिने, नत्र तटस्थ बस्ने

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले आवश्यक परे प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्लाई नै मत दिने निर्णय गरेको छ । भट्टको सरकार ढाल्न नदिने भन्दै कांग्रेसले आवश्यक परे सरकारकै पक्षमा विश्वासको मत दिने निर्णय गरेको हो । माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले केहीबेरमा प्रदेशसभामा विश्वासको मत लिँदैछन् । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सदनभित्रको अवस्था हेरेर निर्णय लिने निर्णय गरेको छ । सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा कांग्रेसले पनि मत निर्णय गरेको हो । सरकार अल्पमतमा पर्ने अवस्था देखिए विश्वासको मत दिने नत्र भने तटस्थ बस्ने कांग्रेसले नीति लिएको छ । तर, कुनै पनि हालतमा हालको सरकार ढाल्न नदिने कांग्रेसको निर्णय छ । यस अघि नेकपा एमाले संसदीय दलको बैठकले भट्टलाई नै विश्वासको मत दिने निर्णय गरिसकेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २४ सांसद छन् । त्यसमध्ये प्रधानमन्त्री केपी ओली पक्षका सांसद सात जना छन् । उनीहरुले भने विपक्षमा मतदान गर्ने बताएका छन् । केन्द्रीय कमिटीले विश्वासको पक्षमा मतदान नगर्न निर्देशन दिइसकेको छ । तर, माधव समूहले उक्त निर्णय आफूलाई मान्य नहुने बताएको छ । यसअघि कर्णालीमा पनि माधव पक्षका सांसदले फ्लो क्रस गरेकै कारण माओवादी नेतृत्वको सरकार जोगिएको थियो । त्यसपछि एमालेभित्रको विवाद झन् उग्र भएको हो ।