NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रतिकार गर्न खोज्दा लुटेराले गोली हाने

जनकपुरधाम । महोत्तरीको लोहारपट्टिमा सोमबार राति गोली चलेको छ । लोहारपट्टि नगरपालिका ६ का रामकरण साहको घरमा ध्यराति लुटपाट गर्न आएकाले गोली चलाएका हुन् । लुटपाटको प्रतिकार गर्न खोज्दा रामकरण साहकी ४५ वर्षीया पत्नी गायत्रीदेवी शाहलाई गोली लागेको छ । दाइने तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । घाइते गायत्रीदेवीको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । मध्यराति करिब २ बजेतिर पाँच÷छ जनाको समूहमा आएका नकावधारी लुटेराले नगद र गरगहना लुटेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश विष्टका अनुसार शाहको घरबाट २५ हजार नगद, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी र दुवै कानको सुनको मुन्द्रा लुटपाट गरिएको छ । लुटेरा समूहले पेस्तोल तोकेपछि गायत्रीले हार गुहार मागेकी थिइन् । कसैले नसुनेपछि उनले आफैं प्रतिकार गर्ने तयारी गरिन् । तर, अकस्मात लुटेरा समूहले गोली चलाए र उनको दाइने तिघ्रामा गोली लाग्यो । त्यसपछि लुटेराहरुले नगदसहित गरगहना लुटेर फरार भएको प्रनाउ विष्टले बताए । अहिले लुटेराहरुको खोजी भइरहेको उनले जानकारी दिए । घाइते गायत्रीको अवस्था सामान्य रहेको छ ।