NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री भट्टलाई दुई तिहाइको समर्थन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । अहिले बैठक जारी रहेको छ । विश्वासको मत लिनुअघि नै मुख्यमन्त्री भट्टलाई दुई तिहाई सांसदले समर्थन गरेका छन् । सबैभन्दा ठूलो दल एमालेको संसदीय बैठकले नै मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । यस्तै कांग्रेसले पनि सदनमा अवस्था हेरेर मुख्यमन्त्रीलाई नै विश्वासको मत दिएर सरकार ढाल्न नदिने निर्णय गरेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले निर्देशन दिएको छ । सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन् । यहाँ मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ । नेकपा एमालेका २४ जना सदस्य छन् । जसमध्ये ८ जना मात्रै ओली समूहका सांसद् छन् । बहुमतमा रहेको माधव समूहले १६ सांसदकै मत भट्टलाई दिने निर्णय गरेको हो ।नेकपा माओवादीका १३ जना छन् । नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी जसपा नेपालका दुई जना प्रदेश सभा सदस्य छन् । १२ सदस्य रहेको कांग्रेसले पनि मुख्यमन्त्रीलाई भोट दिएमा उनलाई प्रदेश सभाको दुई तिहाइको समर्थन रहनेछ । दुई सदस्य रहेको जसपाले भने मुख्यमन्त्रीलाई भोट नदिने बताएको छ । यहाँ जसपाका महन्थ ठाकुर पक्षका सांसद छन् । मुख्यमन्त्री भट्टलाई माओवादी, एमालेको माधव नेपाल पक्ष र कांग्रेसले मत दिएमा दुई तिहाइको समर्थन हुन्छ । यसअघि पनि कर्णालीमा सबैभन्दा ठूलो दल एमाले भए पनि एमालेकै चार सांसदले फ्लोर क्रस गर्दा माओवादी केन्द्रको सरकार जोगिएको थियो ।