NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

महोत्तरीमा घरमुलीलाई गोली हानी लुटपाट

जलेश्वर । महोत्तरीको लोहारपट्टी नगरपालिकामा–६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार गएराति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी–६ बस्ने राजकरण साहको घरमा चार/पाँच अज्ञात व्यक्तिको समूहले प्रवेश गरी घरमुली गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौँको लुटपाट गरी भागेका छन् । लुटेराको समूहले राजकरणको घरमा लुटपाट गरिरहँदा उनकी पत्नी गायत्रीले थाहा पाई हो हल्ला गर्न थालेपछि उनलाई लुटेराले गोली हानेको प्रहरी उपरीक्षक आचार्यले बताए । गोली लागेको महिला गायत्री देवीको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको परिवारजनले जनाएको छ । यता लुटेराले उनको घरबाट सुनको नाकको फूली–२ आना, कानको बाली–४ आना, तिलहरी–६ आना, मङ्गलसूत्र–६ आना, सामसुङ्ग मोबाईल थान–२ र नगद २५ हजार रुपैयाँसहित तीन लाख बढीको सरसामान लुटेर लगेको जनाइएको छ । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोलमा लाग्ने एक राउण्ड गोली र सोही पेस्तोलमा लाग्ने गोलीको खोका थान–एक बरामद गरेको छ भने लुटेराको खोजतलासको लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।