NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

केन्द्रीय समितिको हस्ताक्षर बुझाउन जसपा अध्यक्ष ठाकुरले निर्वाचन आयोगसँग मागे एक साता समय

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आयोगसँग एक साता समय मागेका छन् । जसपाका उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई कारबाही गरेको पत्र जेठ १८ गते निर्वाचन आयोगमा पठाएका थिए । उपेन्द्र यादवले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरिएको पत्र बुझाएका थिए । सोही दिन महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराए । त्यसको भोलिपल्ट नै आयोगले दुवै अध्यक्षलाई पत्र लेखेर राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा सातदिनभित्र निवेदन पेश गर्न पत्रचार गरेको थियो । साथै उक्त पत्रमा अध्यक्ष ठाकुरसँग केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको हस्ताक्षर पनि माग गरेको थियो । यता उपेन्द्र यादवले भने पहिलो पत्रमै केन्द्रीय कार्यकारिणी पदाधिकारीको हस्ताक्षर बुझाएका थिए । उपेन्द्र यादवले अनुचुची १८ बमोजिम फारममा विवरण पठाएको तर महन्थ ठाकुरबाट विवरण प्राप्त नभएको र थप एक साता समय माग भएको निर्वाचन आयोगले जनाएको छ ।