NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

मजदुर र विपन्नलाई क्याप्टेन श्रेष्ठद्वारा सहयोग

काठमाडौं । दिएर खाएर त कसलाई पो पुग्ला र ! तर आपत्–विपद्का बेला सहयोगी मनहरुको साथ पाउँदा दिने पाउने दुवैलाई राहतको अनुभव हुँदो रहेछ । गत वर्षको बन्दाबन्दीमा काठमाडौँ उपत्यकाका विभिन्न ज्याला मजदूरी गर्नेहरुलाई करीब ३५ लाख बराबरको राहत वितरण गरेका एक पाइलटको पहलमा यस वर्ष पनि सहयोगको क्रम जारी रहेको छ । यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठ र उनकी श्रीमती लीला मास्केको पहलमा तीन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका–८ स्थित चेपाङ बस्तीमा बुधबार राहत वितरण गरिएको छ । विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण स्थानीय सरकारले स्रोत साधनले समेत नभ्याएको स्थितिमा यस्ता सहयोग केही समयका लागि साँच्चिकै राहत हुने गरेका छन् । उक्त गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको थियो । सो मानवीय कार्यका लागि मोरङको जनता माध्यमिक विद्यालय, विराटनगरको ४३औँ समूहका सहपाठी पोखरा निवासी वसुधा गुरुङ, संयुक्त राज्य बेलायत निवासी मधु गुरुङ, कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानलगायतको सहयोग रहेको छ । उक्त संख्यामा राहत वितरण गर्दा करीब रु तिन लाख खर्च भएको श्रेष्ठले बताए । विमानहरु नचलेका बेला घरमै आनन्दले बस्न पनि सकिन्थ्यो होला तर दिनदुःखीलाई सम्झिएर ती मनकारी पाइलटलाई सायद निद्रा लाग्दैन । उक्त गाउँमा खानेकुरा अभाव भएपछि कोही जङ्गलमा गिट्ठा खोज्न जाने, कोही खोलातिर माछा मार्न जाने तथा कोही टाँकीको मुन्टा र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार प्रकाशन भएको थियो । समाचार पढेर श्रेष्ठको मन पग्लियो । अनि सहयोगीहरुबाट खाद्यान्न संकलन गरी वितरणका लागि आफै गाडीको प्रबन्ध गरेर निषेधाज्ञाकै बीचमा हिड्ये। विमान चालकको पास देखाएपछि र राहातको सामन देखेपछि आफूलाई सुरक्षाकर्मी र स्थानीय सरकारले सहजता गरिदिएको क्याप्टेन श्रेष्ठले बताए । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाखदेखि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँबासी तीनचार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेका थिए । श्रेष्ठले काठमाडौँ महानगरपालिका–३० को रातोपुलमा स्थापना भएको सुविधा सम्पन्न आइसोलेसन सेन्टरलाई गत महिना रु एक लाख हस्तान्तरण गरेका थिए ।