NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

जसले खुट्टा उचालेर पनि मन्त्री हुन पाएनन् !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका दाहिना महेश बस्नेतको नाम गृह वा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा निकै चर्चामा थियो । हिजो अपरान्हसम्म पनि गृह मन्त्रीमा खगराज अधिकारी र बस्नेतको प्रतिस्पर्धा शिर्षकमा समाचार बनिरहेका थिए । तर, आज केपी ओलीले मन्त्रिपरिषद् विस्तारको सूची सार्वजनिक हुँदा बस्नेतको नाम नै परेन । प्रतिनिधि सभामा खोटाङबाट विजयी विशाल भट्टराईलाई ओलीले अस्ति ७ जेठको मध्यरातमा संसद विघटन गर्नु अघिसम्म संसदीय दलको प्रमुख सचेतक बनाएका थिए । भट्टराई पनि वर्षौदेखि ओली समूहमै छन् । खोटाङबाट उनले दोस्रो पटक निर्वाचन जितेका थिए । मन्त्रीको सूचीमा भट्टराईको नाम पनि अगुवा पक्तिमै थियो । तर, ओलीले उनलाई पनि मन्त्री बनाएनन् । संखुवासभाबाट विजयी राजेन्द्र गौतम, गौतम पनि मन्त्री बन्न खुट्टा उचालेर बसेका थिए । गौतम भर्खरै उपप्रधानमन्त्रीबाट खुस्किएका इश्वर पोखरेल निकट मानिन्छन् । ओलीले पोखरेललाई हटाएकाले उनको कोटाबाट आफूलाई मन्त्री बनाउलान् भन्नेमा गौतम ढुक्क थिए । गत १० फागुनमा विस्तार गरेको मन्त्रिपरिषद्मा समेत मन्त्रीको सूचीमा आफ्नो नाम भएकोमा प्रेमबहादुर आलेले भड्किने भएपछि उनलाई बनाइएको भनेर गौतमले साथीभाईहरुसँग भन्ने गरेका थिए । तिनै गौतमले पनि मन्त्री पाएनन् । धनकुटाका राजेन्द्र राई मन्त्रीका आकांक्षी मध्ये निकै अघि थिए । ०७४ को स्थानीय निर्वाचनमा धनकुटाका सबै स्थानीय तहमा एकलौटी रुपमा एमालेलाई विजयी गराएको, त्यहीबाट आफू पनि जितेर आएकाले मन्त्री पाउनु पर्ने राईको ठम्याइ थियो । हुन पनि राईभन्दा धेरै कनिष्ठलाई मन्त्री दिँदा पनि ओलीले उनलाई निरन्तर हेलाहोचो गर्दै आएका थिए । राईलाई ओलीले केन्द्रीय सदस्य समेतबाट बन्चित गरेका थिए । तर, पनि उनलाई ओलीले यसपटक पनि मन्त्री दिएनन् । सुनसरी १ बाट विजयी जय कुमार राई मन्त्री पाउने आशामै अस्ति ७ जेठमा मात्र ओली समूहमा पुगेका थिए । राईले पनि मन्त्री पाएनन् । त्यसैगरी भ्रष्टचारको आरोप लागेपछि सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रीबाट राजीनामा दिन बाध्य भएका काभ्रेका गोकुल बास्कोटा पनि मन्त्री बन्ने लाइनमै थिए । त्यसका लागि उनीहरुले अख्यिारसँग समेत उद्योग मन्त्रीबाट असमयमै हट्न बाध्य कर्णबहादुर थापा, दलित कोटाबाट मन्त्री पाउनै पर्छ भनेर लविइङ गरिरहेका थापा, छविलाल बिश्वकर्माको पनि अपेक्षा पुरा हुन सकेन । काठमाडौं तीनबाट विजयी कृष्ण कुमार राई, सुदूरपश्चिमका यज्ञ बोगटी, लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पत्नी सुजिता शाक्य पनि नेपाल प्रहरीको महानिरीक्षक नपाएको झोंकमा एमाले प्रवेश गरेर ललितपुर–१ बाट प्रतिनिधि सभामा छिरेका नवराज सिलवाल पनि मन्त्री पाइने विस्वासमा थिए । तर, उनीहरु पनि चिसै पानीले नुहाउन वाध्य भएका छन् ।