NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

माओवादीका मुख्यमन्त्रीलाई साथ दिने एमाले सुदूरपश्चिमका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेर सरकार जोगाइदिएका नेकपा एमाले माधवकुमार नेपाल समूहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले उनीहरुलाई मुख्यमन्त्री भट्टलाई पार्टीको निर्देशन विपरीत विश्वासको मत किन दिएको भन्दै स्पष्टीकरण सोधेको हो । नेकपा एमाले स्थायी कमिटी बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्देशन दिएको थियो । माधव समूहको बहुमत रहेको प्रदेश संसदीय दलको बैठकले वर्तमान सरकारलाई नै निरन्तरता दिने भन्दै विश्वासको मत दिने निर्णय गरेको थियो । एमालेका जम्मा २४ सांसद मध्ये १७ जनाले विश्वासको मत दिएका थिए । एमालेका प्रदेश सचिव राजेन्द्र रावलका अनुसार १० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको हो । स्ष्पटीकरणमा संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यहरुले चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने चेतावनी दिइएको छ । संसदीय दलका नेता शाहलाई पार्टीको निर्देशन विपरीत सरकारमा आफू र अरुलाई पनि सहभागी गराउनुपर्ने कारण के हो ? भनेर सोधिएको छ । एमाले अध्यक्ष ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तीन मन्त्रीले राजीनामा दिए लगतै चार मन्त्री र तीन राज्यमन्त्री लिएर नेपाल समूह प्रदेश सरकारमा सहभागी छ । मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि एमाले संसदीय दलको बैठकले पार्टी निर्देशन विपरीत पक्षमा मत दिने निर्णय गरेको थियो । बैठकमा ओली पक्षका सांसदहरुले विश्वासको मत दिन नहुने भन्दै फरक मत राख्न चाहे पनि बहुमत पक्षले दिएको थिएन । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप उल्लंघन गरेको भन्दै मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने ओली समूहका ७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । उनीहरुले बुधबार शाहलाई स्पष्टीकरण बुझाएका छन् ।