NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

गण्डकीमा एमालेको प्रदेश सरकार ढल्यो, अब के हुन्छ ?

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएका छन् । संसदका ६० मध्ये ५८ जना बैठकमा उपस्थित थिए । तर, ५७ जनाले मात्रै भोट हाले । जसमा विश्वासको मतका पक्षम एमालेका २७ जना मात्रै सांसदको मत खस्यो । विश्वासको मतका लागि ३१ मत नपाएपछि गुरुङको सरकार ढलेको हो । अब विपक्षी वा संसदको कुनै सदस्यले बहुमत पुर्याउने अवसर एकपटक पाउनेछन् । संविधानको धारा १६८(५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको लागि आह्वान गर्नेछिन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसदको कुनै सदस्यलाई बहुमत पुग्ने आधार प्रस्तुत गर्न आग्रह गरेपछि दलहरुले हस्ताक्षरसहित ३१ जना सांसदको सूची बुझाउनुपर्नेछ । बहुमत पुग्ने ग्यारेन्टी गरेपछि उनीहरुले प्रस्ताव गरेको सांसद मुख्यमन्त्री बन्नेछन् । तर,त्यस्तो मुख्यमन्त्रीले पनि विश्वासको मत लिनुपर्नेछ । नभए संसद विघटन भएर मध्यावधि निर्वाचनमा प्रदेश जानेछ । यस अघि नै विपक्षी गठबन्धनले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् । अब कांग्रेसका १५, माओवादीका ११, जसपाका दुई, जनमोर्चाका २ गर्दा ३० सांसद हुन्छन् । स्वतन्त्रबाट जितेका दीपक मनाङेले पनि समर्थन गरे । कांग्रेसका नेपाली मुख्यमन्त्री बन्नेछन् । विपक्षीले बहुमत पुर्याउन नसके गण्डकी प्रदेश मध्यावधि निर्वाचन हुनेछ ।