NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

दुई महिना मेलम्चीको पानी नआउने

काठमाडौं । काठमाडौं उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । समितिले बिहीबार सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ । ती नदी किनारमा नजान र जानै परेमा विशेष साबधानी अपनाएर जान भनिएको छ । सुरुङ खाली गर्न झण्डै १६ दिनसमेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्ने बताइएको छ । सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ । वर्षा पहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गरिन लागेको हो । आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरेको थियो । परीक्षण शुरु भएको १२ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गत वैशाख ६ देखि नै उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो ।