NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

स्वास्थ्य मन्त्रालयद्वारा संक्रमितको उपचारका लागि पाउने सेवाको विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमितको उपचारका लागि पाउने सेवाको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको निःशुल्क सेवा विवरणमा संक्रमितको उपचारदेखि खानासम्म निःशुल्क अस्पतालले सेवा दिनुपर्ने उल्लेख गरिएको छ । मन्त्रालयले ८३ वटा सरकारी, निजी, सामुदायिक र सहकारी अस्पतात संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कतिपय अस्पतालले संक्रमितको उपचारमा शुल्क लिएको पाइएकाले निःशुल्क उपचार सहितको सेवा पाउने विवरण सार्वजनिक गरेको बताए । उनका अनुसार संक्रमितको निःशुल्क उपचारसँगै सामान्य ११ प्रकारका रगत परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधीहरू, बिरामीका शय्या शुल्क र खाजाखानासहित चार छाक अस्पतालले निःशुल्क उपलब्ध हुनेछ । यस्तै आइसियुमा रहेका बाहेकको बिरामीमा पिसीआर, रेम्डेसिभर, प्लाज्माथेरापी, सिटी स्क्यान र हायर एन्टिवायोटिक्सको भने बिरामीले शुल्क तिर्नुपर्ने हुन्छ । मन्त्रालयले उल्लेख गरिएका विवरण बिरामीले नपाएको खण्डमा कुनै पनि अस्पताललाई शोधभर्ना उपलब्ध नगराउने, निःशुल्क कोभिड–१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाइने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानूनअनुसार अस्पताललाई कारवाही गर्ने प्रवक्ता डा. पौडेलले बताए । सरकारले कोभिड–१९ का संक्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई रु तीन हजार ५०० प्रतिदिन, मध्यम बिरामीका लागि रु सात हजार प्रतिदिन र गम्भीर प्रकृतिका बिरामीलाई रु १५ हजार प्रतिदिन तोकेको छ । सोहीअनुसार सङ्क्रमितको उपचार गर्ने अस्पताललाई मन्त्रालयले सोध भर्ना दिने गरेको छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिने अस्पतालाई कारवाही गर्ने बताएको तर मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ । नेपालमा अहिलेसम्म ६ लाख १ हजार ६८७ जना संक्रमित, पाँच लाख १५ हजार ५९१ निको र ८ हजार २३८ जनाको संक्रमणको कारणले निधन भइसकेको छ ।