NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कांग्रेसको १४ औं महाधिवेशनका पदाधिकारी अघिल्लोपटक कति लोकप्रिय ? 

काठमाडाैं । यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशन जारी छ । हालसम्म महाधिवेशनका लागि ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परिसकेको छ ।  त्यसमा केही नयाँ अनुहार थपिएका छन् भने केही पुरानै पदाधिकारी दोहोरिएका छन् ।  १३ औं महाधिवेशनमा पहिलो चरणमा १५६४ र दोस्रो चरणमा १८८२ मत ल्याएर शेरबहादुर देउवाले पार्टी सभापतिको भूमिका पाएका थिए । अर्का प्रत्यासी रामचन्द्र पौडेललाई उनले पहिलो चरणमा ४०४ र दोस्रो चरणमा ५८६ को फराकिलो मतान्तरले पराजित गरेका थिए ।

यसपटक पौडेलले कुनै पनि पदका लागि उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् ।  यो महाधिवेशनमा केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका डा. शशांक कोइराला अघिल्लो महाधिवेशनमा सर्वाधिक मतसहित महामन्त्री चुनिएका थिए । उनले १४१७ भोट पाएका थिए । अर्जुननरसिंह केसीले १०१७ र गगन थापाले ५८४ मत ल्याएका थिए । यसपटक केसीले केन्द्रीय सदस्य र थापाले महामन्त्रीका लागि उम्मेदवारी दिएका छन् ।  १३ औं महाधिवेशनमा कोषाध्यक्षमा चित्रलेखा यादवले ८ मतले हार ब्यहोरिन् । उनले त्यतिबेला १२०९ मत प्राप्पत गरेकी थिइन् । यसपटक उनले केन्द्रीय सदस्यका लागि प्रदेश २ बाट महिलातर्फबाट उम्मेदवारी दिएकी छिन् ।  केन्द्रीय सदस्यतर्फ अघिल्लो महाधिवेशनमा सबैभन्दा बढी लोकप्रिय मत डा. शेखर कोइरालाले ल्याएका थिए भने डा. मीनेन्द्र रिजाल सबैभन्दा अन्तिममा परेका थिए ।  त्यतिबेला खुला केन्द्रीय सदस्यका लागि जम्मा २५ सिट थियो भने उक्त पदको लागि ९० जना चुनावी मैदानमा उत्रिएका थिए ।  त्यही २५ जनामध्ये सार्वधिक धेरैै मत १८४८ ल्याएर कोइराला पहिलो नम्बरमा थिए भने १४२० मत ल्याएका रिजाल २५ औं नम्बरमा परेका थिए ।

त्यस्तैगरी, अहिले सभापतिका उम्मेदवार प्रकाशमान सिंहले केन्द्रीय सदस्य पदको लागि १७९५ मत ल्याएका थिए । हाल देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिएका प्रदीप पौडेलले अघिल्लो महाधिवेशनमा स्वतन्त्र रूपमा चुनावमा भाग लिएका थिए । त्यतिबेला उनी केन्द्रीय सदस्य निर्वाचित २५ जनामध्ये १७०९ मतसहित छैटौं नंबरमा परेका थिए ।  त्यस्तैगरी, अहिले खुुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बालकृष्ण खाँड यसअघि सातौं नम्बरमा थिए । १७०४ लोकप्रिय मतसहित उनले केन्द्रीय सदस्यमा जित हासिल गरेका थिए । यसपटक केन्द्रीय सदस्यका दाबेदार रमेश लेखक १६८९ मतसहित नऔं स्थानमा थिए ।

अहिले पार्टी सभापतिका दाबेदार विमलेन्द्र निधि अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार थिए । १६८० मतका साथ उनले ११ औं नंबरमा आफ्नो स्थान बसाएका थिए ।  योपटक प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा दाबेदारी दिएका विश्वप्रकाश शर्मा यसअघि १६२० मतसहित १४ औं नम्बरमा परेका थिए । सुजाता कोइराला १६६९ मत ल्याएर १५ औं नम्बरमा परेकी थिइन् । यसपटक उनले प्रकाशमानको प्यानलबाट उपसभापतिको लागि उम्मेदवारी दिएकी छन् ।  यसपटक केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी दिएका डा. रामशरण महत यसअघि १६११ मतसहित १६ औं नम्बरमा परेका थिए ।  १४६४ मतसहित डा. नारायण खड्का २४ औं नंबरमा परेका थिए ।