NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

नेपालीको कपालमा ११ महिनामा ५८ करोडको तेल

काठमाडौं । चालु आवको ११ महिनामा नेपालले ५८ करोडको हेयर आयल (कपालमा लगाउने तेल) आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले कुल ५८ करोड १२ लाख ७६ हजार रुपैयाँ बराबरको कपालमा लगाउने तेल आयात गरेको पाइएको हो । उक्त रुपैयाँ बराबरको तेल आयात गर्दा सरकारले २५  कराेड ४४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

तथ्यांकअनुसार नेपालले छिमेकी मुलुक भारत, इन्डोनेसिया, इटाली, कोरिया, मलेसियासहित १३ देशबाट तेल आयात गरेको छ । ती देशहरुमध्ये सबैभन्दा बढी भारतबाट ५७ करोड ६७ लाख ४२ हजारको तेल आयात भएको विभागको तथ्यांक छ ।

त्यस्तै इन्डोनेसियाबाट १२ लाख ८७ हजारको तेल आयात भएको छ भने उक्त मूल्य बराबरको तेल आयात हुँदा ५ लाख ५३ हजार राजश्व संकलन भएको छ ।

कोरियाबाट ७ लाख ४० हजार र  इटालीबाट २ लाख ९ हजार  रुपैयाँ बराबरको आयात भएको छ । मलेसियाबाट ५ लाख ५२ हजार, पोर्चुगलबाट ५ लाख ७७ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

अन्य देशहरूमा स्पेनबाट ५० हजार, श्रीलंकाबाट एक हजार, थाइल्याण्डबाट ८७ हजार, टर्कीबाट ३ लाख ६६ हजार रुपैयाँ बराबरको तेल आयात भएको छ । त्यस्तै यूएईबाट ४९ हजार रुपैयाँ र अमेरिकाबाट ३ लाख ८४ हजार रुपैयाँको कपालमा लगाउने तेल आयात भएको छ ।