NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक २१ गते

हार्वडमा शिक्षानीति पढेका विवेक किन फर्किए नेपाल ?

काठमाडौं । अमेरिकाको हार्वड विश्वविद्यालबाट शिक्षा नीतिमा स्नातकोत्तर गरेका विवेक बस्नेतले शिक्षा क्षेत्रमै काम गर्ने निर्णय गर्दा धेरैले सोधेको प्रश्न हो, ‘शिक्षामा नै किन?’

हिजोआज युवापुस्तामाझ शिक्षा क्षेत्र र शिक्षण पेशमा घट्दो रुचीको माहोलमा बस्नेतले भने यही क्षेत्रमा केही गर्ने मनासाय बनाएका हुन् । त्यो पनि युवाहरूको बढ्दो विदेश यात्राबीच नेपाल फर्किने विचारसहित ।

शिक्षा नै किन त ? भन्ने प्रश्नमा उनले आफूमात्रै नभएर उनलाई यो प्रश्न गर्ने जोकोहीको पनि शिक्षाप्रतिको लगाव रहने गरेको बताए । ‘जीवनको उर्जाशील समय शिक्षामै बित्यो । हामी सबैको जीवनमा शिक्षाको मुख्य भूमिका छ,’ उनी भन्छन्, ‘मान्छेलाई आफू को हो, कस्तो काम गरिरहेको छु भन्ने कुरा कक्षाकोठाको सिकाइमा धेरै निर्भर गर्छ । कक्षाकोठामा विद्यार्थीले के सिक्छ भन्ने कुराले उसको भविष्यमा धेरै प्रभाव पारिरहेको हुन्छ ।’

उनी नेपाल फर्किएको केही समयमात्रै भयो । शिक्षा नीति सम्बन्धी विज्ञता हासिल गरेर आएका उनले यहाँको परिवेशमा काम गर्ने मौका पाइसकेका छैनन् । तर केही सरोकारवाला निकायमा आफूले जाने बुझेका सुझाव दिएका छन्।

हाल उनी ‘ग्लोबल पार्टनरसिप फर एजुकेसन’ भन्ने संस्थामा कार्यरत छन् । यो संस्थाले नेपालजस्तै निम्न आय भएका मुलुकहरूको शिक्षा क्षेत्र सुधारका लागि आर्थिक सहयता प्रदान गर्दै आएको छ । यही सन्दर्भमा नेपाललाई पनि केही मिलियन डलर सहयोग गर्ने स्वीकृती भइसकेको उनले जानकारी दिए ।

नेपालको परिवेशमा उनले शिक्षा क्षेत्रमा देखेको मुख्य समस्या हो शिक्षकलाई जिम्मेवारी धेरै दिएर उनीहरूको क्षमतावृद्धिमा भने कम चासो दिनू । सरकारपक्षबाट यसमा ध्यान दिनुपर्ने उनको बुझाइ छ ।

शिक्षण पद्धतीमध्येको ‘पेडागोजी’मा रूची राख्ने बस्नेतले यसपटकको एजुकेसन डायलगमा शिक्षाका विविध आयामबारे आफ्ना बुझाइ साझा गरेका छ्न । कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालसँगको झण्डै एक घण्टा लामो कुराकानीमा उनले आफूमा शिक्षाप्रति रूची लाग्नुका कारण, नेपालको शिक्षा नीतिमा हुनुपर्ने सुधार, हामीले अंगाल्नुपर्ने नयाँ शिक्षण पद्धतीका बारेमा आफ्नो अनुभव साटेका छन् ।

सिकाइको प्रक्रियामा विद्र्याीहरूको नयाँ विचार जन्माउन पेडागोजीको प्रक्रियाले निकै ठूलो भूमिका खेल्ने उनी बताउँछन् । उनका अनुसार शिक्षाले हाम्रो पर्यावरणबारे पर्याप्त जानकारी दिन सक्ने र यही अवसर देखाउन सक्ने किसिमको हुनुपर्छ ।

किताबी भन्दा पनि समुदायसँग जोडिएको शिक्षामा ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘कुन विरुवा कुन समयमा उम्रिन्छ, खेती कसरी लगाइन्छ भन्ने कुरा सिकाउन महत्त्वपूर्ण छ,’ उनले भने।

हाम्रो शिक्षाले पढ्यो भने केही नगरी बस्न सकिन्छ भन्ने भाष्य तयार गरिरहँदा यसले सीपको काम गर्ने मान्छेहरुको महत्व कम बनाएकोप्रति उनले गुनासो गरे । यो सोंचबाट माथि उठ्नुपर्ने उनको सुझाव छ ।

हेरौं बस्नेतसँगको कुराकानीको पूरा भिडियोः