माधव नेपाल ओलीतिर फर्किंदैछन् !
काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेललाई नेकपा दिंदै एमाले र माओवादीलाई ब्युँत्याइदिएपछि राजनीतिक वृत्तमा आइतबारदेखि खैलाबैला छ । एमाले ब्युँतिंदा संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन नसक्ने भएपछि नेता माधव कुमार नेपालले अब के गर्छन् भन्ने विषयमा सर्वत्र चासो उत्पन्न भइरहेको छ । प्रधानमन्त्री केपी ओलीसँग चिढिएर प्रचण्डसमूहतिर लाग्दा नेपालले पार्टीमा ४० प्रतिशत हिस्सा पुर्याउन सक्ने अवस्था छैन । यस्तोमा उनी पक्षका सांसदहरु नै कारवाहीमा पर्न सक्ने भएकोले उनी अब एमालेमै बस्छन् की आफू र आफ्ना सांसद माया मारेर प्रचण्डको कित्तामा उभिन्छन् ? राजनीतिक रुपमा आफू सबैभन्दा मारमा पर्ने गरी अदालतको फैसला आएको प्रतिक्रिया नेपालले संचारमाध्यमलाई दिएका छन् । आइतबार कानुन व्यवसायीसँग छलफल गरेपछि नेपालले सोमबार भने आफू निकटका नेताहरुसँग काठमाडौंको एक होटलमा आफू निकटका नेताहरुसँग छलफल गरेपछि नेपाल प्रचण्ड र आफ्नो समूहको स्थायी समितिको बैठकमा सहभागी हुन पेरिस पुगेका छन् । नेपाल समूहमा एमालेमै बसेर ओलीको प्रवृत्तिविरुद्ध लड्नेसम्मको विषयमा छलफल भएको बुझिएको छ । सो छलफलपछि कसरी अगाडि बढ्ने भन्नेमा नेपाल समूहले स्थायी समितिमा आफ्ना कुरा राख्ने तयारी गरेको छ । कानुनी परामर्शका क्रममा कानुन व्यवसायीहरुले सर्वोच्चको फैसलापछि पुनरावलोकनको विकल्प पनि सुझाएका थिए । एमालेसँग चिढिंदा सांसदमात्रै नभई भावनात्मक रुपमा पनि पूर्व एमालेसँग सम्बन्ध र सम्पर्क टुट्ने बुझाईमासमेत सो समूह पुगेको छ । ओलीसँग भागेर भन्दा एउटै पार्टीमा बसेर उनको प्रवृत्तिविरुद्ध लड्दा आफूहरुलाई राजनीतिक लाभ हुने उनीहरुको बुझाई छ । एमालेको १२० सांसदमध्ये नेता नेपालको पक्षमा ४० हाराहारी सांसद छन् । १२० को ४० प्रतिशत सांसद संख्या पुर्याउन नसक्दा आफ्नो तर्फका सांसद लिएर पार्टी फुटाउन नसक्ने भएपछि नेपाल सबैभन्दा बढी दबाब र तनावमा छन् । नेपालका तीन विकल्प विकल्प नं १ : एमालेमै फर्कने माधवकुमार नेपाल गत निर्वाचनमा नेकपा एमालेको नाममा निर्वाचित सांसद हुन् । निर्वाचनमा उनको चुनाव चिन्ह सूर्य छ । सर्वोच्चको फैसला अनुसार उनी अब एमालेका सांसद हुन् । तर यसबीचमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्वन्ध निकै बिग्रिएको छ । उनले सजिलै एमाले फर्कियौँ भन्ने स्थितिसमेत छैन । केपी ओलीसँग नेता नेपालको सम्बन्ध कार्यकर्तास्तरसम्म बिग्रिएको छ । यस्ताे मनस्थितिमा याे पनि सहज नहुँदा नहुँदै नेपालका लागि बाध्यात्मक अवस्था बन्न सक्छ । विकल्प नं २ : पार्टी विभाजन गर्ने नेता माधवकुमार नेपालसँग रहेको दोस्रो विकल्प भनेको नेकपा एमालेभित्रको संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत हस्ताक्षर जुटाएर पार्टी विभाजन गर्नु हो । तर एमालेभित्र संसदीय दलमा माधवकुमार नेपाल पक्षसँग ३० प्रतिशत मात्र सांसद छन् । राजनीतिक भविष्य अन्यौलमा रहेको नेपाल पक्षले अब एमालेको संसदीय दलमा ४० प्रतिशत बहुमत जुटाउने सम्भावना लगभग सकिएको छ । त्यसकारण उनका लागि दोस्रो विकल्प प्रयोग गर्न सक्ने स्थिति नै छैन । विकल्प नं ३ : सांसद त्यागेर माओवादी केन्द्रमा मिसिने माधवकुमार नेपालसँग अन्तिम वा तेस्रो विकल्प भनेको माओवादी केन्द्रसँग मिसिने हो ।तर त्यसरी माओवादीसँग मिसिंदा दल त्याग गरेको कारण नेकपा एमालेले माधवकुमार समूहका सांसदहरुको पद खारेज गर्नेछ । तर सांसद गुमाएर माओवादी केन्द्रमा प्रवेश गर्दा माधवकुमार नेपाल समूहले राजनीतिमा थप क्षति व्यहोर्नुपर्ने हुन्छ । माधवकुमार पक्षले अन्तिम विकल्पका रुपमा एमाले त्याग गर्ने र नयाँ पार्टी बनाउने तर माओवादी केन्द्रमा नजाने निर्णय पनि गर्न सक्छन् ।
प्रतिक्रिया