NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

दुई वर्षका छोरालाई छोडेर कार्यक्षेत्रमा जाँदा पोलिरहेको हृदय

भीमकुमारी ओली दुई वर्षे काखे छोरा आफन्तहरूको जिम्मामा छाडेर भूमिगत हुने लडाकु हुन् । पुस ०६४ मा प्रगतिशील अध्ययन केन्द्रले पीडाभित्रको आक्रोश संस्मरण संग्रह प्रकाशित गरेको थियो । आज ८ मार्च अर्थात् अन्तराष्ट्रिय महिला दिवस हो । प्रस्तुत छ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पीडाभित्रको आक्रोशमा ओलीले दुधे बालक छाडेर मृत्यु मैदानमा हिँड्दाको संस्मरण : विहान उठेर घडी हेर्दा ४ः३५ बजेकोे थियो । छोराले आफ्नो दायाँ हात मेरो छातीमा अंकमाल गरेर सुतिरहेको थियो । जुन दिन मैले गाउँ जनसत्ता (गा.ज.स) अधिवेशन सम्पन्न गर्न टाढा हिँड्नु थियो ।छोराले थाहा नपाओस् भनेर म सुस्तरी उठें । उसको हात पन्छाएँ, उठेर राती नै तयार बनाएको झोला बोकें, ढोका खोलेर बाहिर गएँ । शिरशिरे धिपधिप आगो बल्दै थियो । सानो आवाजमा वरा खोला सुसाइरहेको थियो । क्रान्ति तीव्र रफ्तारमा हुँइकिरहेको बेला त्यो क्रान्तिकालको परिस्थितिको गति अनुसार आफ्नो अभिभारा पूरा गर्नुछ । मेरो अगाडि छोराको माया भन्दा पार्टीले दिएको जिम्मा पूरा गर्ने कर्तव्यबोधले पोलिरहेको छ । अनि मेरो छोरा भन्दा क्रान्तिका काम प्रमुख भएर उभिएको छ । त्यसैले जनताको घरमा बाबुलाई छोडेर सहयोगी नानीलाई दुई वर्षको छोरा जिम्मा दिएर म मेरो फिल्डतिर जाँदै छु । एक दुई पाइला गर्दै बाहिर आउँछु । जति पर गयो त्यति मुटु दुख्ने गर्छ । ती दुधे बच्चाहरू छोडेर हिँड्दा सायद् सबैलाई यस्तै हुन्छ होला भनेर आफैंलाई सम्हाल्ने कोसिस गर्छु । विहान ५ बजे उठेर बाबु सधैं बुबु खान्छ तर आज मैले छोड्दै छु, व्युँझेर मम्मी खोज्ला, कति धेरै रोला, नानीलाई कति सताउला । मेरो घरमा सासु र माइत आमा भैदिएको भए मैले यो मुटुको टुक्रालाई जनताको घरमा छोड्न बाध्य हुने थिइनँ । केहीबेर घरको आँगनीमा पुगेर म भावुक हुन पुगेछु । मनले मानेन । फर्केर बाबु हेर्न गएँ । ऊ मस्त निद्रामा सुतिरहेको थियो । उसको हात मिलाइदिएँ । अनि फेरि विस्तारै बाहिर निस्किएँ । आकाशमा ताराहरू चम्किरहेका थिए । हृदयभरी सुन्दर संसार रचना गर्ने मीठा अभिलाशा बोकेर आँखाभरि मुक्तिका दीप बाल्दै म ओह्रालो लागें । भित्र आत्मामा बाबु नै बसिरहेको छ । उसलाई मैले भन्न थालें, छोरा….छोरा……… । ए मेरो मुटुको धड्कन………..। हामी आमा–बुबाको तिमीलाई न्यानो माया दिएर काखमा राख्दै सँगै बस्ने फुर्सद छैन । छोरा, के तिमीलाई थाहा छ ? तिम्रो बुबा आमाले त देशमा भइरहेको शोषणको मञ्जील ढालेर गरीब, निमुखा, अभावै अभावमा सामन्तहरूको दासतामा पिल्सिरहेका जनताको नयाँ भविष्य निर्माण गर्न बलिदानको यात्रामा प्रतिबद्ध छौं । तिमीलाई थाहा छैन छोरा ! तिमी दुई वर्षको मात्र भयौ । तिमीले तिम्रा बाबा पनि चिनेका छैनौं । तिम्रो बाबा जनमुक्ति सेनाहरूको गौरवपूर्ण अभिभारा पूरा गर्न हजारौं योद्धाहरूसँग पंतीबद्ध भएर मुटुभित्रबाट मुक्तिको दीपशिखा बदल्दै हृदयभरि देशको माया सजाउँदै साहस, वीरताका तुफान सिर्जना गरेर चाहे त्यहाँ बलिदानीको यात्रा किन गर्न नपरोस् । त्यसलाई सहर्ष स्वीकारेर हिडिँरहनु भएको छ । कहिले नदीहरूको किनारैकिनारमा, अनि कहिले भीर–पहरा र उकारीहरूमा, भञ्ज्याङ र चुलीहरूमा, ढकमक्क गुराँस फुल्ने लेकहरूमा, एस.एल.आर, एस.एम.जी एवम् झोला बोकेर लेफ्राइटको तालमा दौडिरहनुभएको होला । वर्ग दुश्मनलाई यो धर्तीबाट नष्ट गरेर हजारौं वर्षदेखि लुटिएका थिचिएका भोको पेट, नांगो शरीर एवम् अशिक्षा–अन्धकारमा जीवन जिउन विवस करोडौं मनुवाहरूको राज्यनिर्माण गर्न आफ्ना सहयात्रीहरू सँगसँगै भोक, तिर्खा, थकाइहरू, कष्ट, पीडा, हजार कठिनाइको सामना गर्दै, जनताका वैरीहरूसँग लड्दै मोर्चा कस्दै, भूमरी, हुरी र तुफानहरूमा पनि रगत बगाउँदै सङ्ग्राममा जीवन आहुती दिने आफ्नो प्यारा सहयोद्धाहरूको शवमाथि अन्तिम सलामी चढाउँदै अनि घाइते वीरहरूलाई बोकेर अजङ्ग पहाडहरू चढिराख्नुभएको होला । यतिबेला तिम्रो बाबा सधैंझैं राप्तीमा हुनुहुन्न । दुनियाँ बदल्ने महान् पार्टीको महान योजना सफल बनाउन आफनो पल्टन लिएर गण्डक जानुभएको छ । यस घडीमा त्यहाँका जनतासँग वर्गीय माया गाँस्र्दै सहरमा लडाईं कसरी लड्ने, राजधानी कसरी घेरा हाल्न सकिन्छ, यस युद्धमा हाम्रो पलहले कसरी विजय हासिल गर्न सकिन्छ ? पार्टी नेतृत्व, कमान्डर, कमिसारहरू योजना तर्जुमा गर्न व्यस्त हुनुहुन्छ होला । विश्वलाई बदल्ने मुक्ति संग्राम हाँक्न संकल्पबद्ध जनमुक्ति सेनाहरू कहिल्यै नथाक्ने हिम्मत गरेर इन्कलावको धून एवम् धती बदल्ने गीत गुञ्जाउँदै संसार हल्लाउँदै लालयात्रामा समर्पित हुँदै गर्दा तिम्रो बाबा तिमीलाई भेट्ने अनि आफूलाई बाबाको परिचय दिने फुर्सद छैन छोरा । बैरीहरूसँग लड्दै बा गोलाहरूको धमकहरू असिना वर्षेजस्तै गोलीका पर्राहरूमा पनि मुटुमै अजम्बरी जीवन देख्ने बहादुरहरूको ताँतीमा लामबद्ध हुनुहुन्छ । यी सबै वीरताका क्षणहरू तिमी ठूलो भएर पढ्नेछौ छोरा । सर्वहरा वर्गको ड्युटी पूरा गर्न वर्गयुद्ध सफल बनाउनेबाहेक अन्त सोच्न मान्दैन मनले । यी नानाथरि कुराहरू सोच्दै हिँड्दा कति चाँडै पाखापानी पुगेछ । आज गा.ज.स अधिवेशन गर्नुछ । निश्चित ठाउँमा पुगेपछि गा.ज.स जनप्रतिनिधिहरू सबै आइपुगेका रहेछन् । नौ वटा वडाबाट दुई सय १५ जनाको उपस्थिति थियो । आगामी नीति तथा कार्यक्रम बनाउन सबै उत्साहित देखिन्थे । केहीछिनमै कार्यक्रम सुरु भयो । जनसत्ता कस्तो बनाउने, नयाँ सत्ताभित्रको राजनीति, संस्कृति, आर्थिक आत्मनिर्भर कसरी बन्ने र आधार बदल्ने सरकारी कुराहरूमा खुबै वहस हुन्छ । अनि प्रतिवेदन पास हुन्छ । पारी क्षितिजमा घाम अस्ताइसकेको थियो । कार्यक्रम समापन पश्चात अन्य सबै क्षेत्रका गा.ज.सको कामको योजना बनाउँदै गर्दा रात पर्दै जान्छ । सबै कामको बाँडफाँट भएर कमरेडहरू फर्किनुहुन्छ । मैले भनें, आज मेरो बाबु छोडेको दिन बाबुको बुबु सुन्निएर हात चलाउन दिइरहेको छैन । अलि पीडा भइरहेको छ । ज्वरो आउलाजस्तो भइरहेको छ । यति धेरै दुध पिउनेरहेछ । बाबु कति विलौना गरिरहेको होला आफैं भक्कानिन मन लाग्छ । तर, १० वर्षका आँधीहुरी सम्झिन्छु । वीरताको राता इतिहास लेख्ने बहादुर महिला कमान्डरहरू जस्तै, कमरेड सपना घोराही ब्यारेकब्यारेकमा एसाल्टमा लड्दै गर्दा वलिदान गर्नुभयो । बाँदर लड्ने भीरमा पनि हतियार बोकेर हाम्फाल्दै लडाईंको पहल ल्याउन कासन गर्दै जाँदा भावाङ भीरको ऐतिहासिक मोर्चामा वीरता हासिल गर्ने क. सपनाशीलहरू मेरो ढुकढुकीमा उपस्थित हुन थाल्नुहुन्छ । कालो युग, राक्षसी जुग बदल्न बलिदान गर्ने हजारौं सहिदहरू एवं आफ्नो जीवनको टुक्रा गुमाएर पनि क्रान्तिको महान बाटोमा आधा धर्ती ओगटेका महिलाहरूको मुक्तिको झण्डा बोकेर सगरमाथातिरै कुदिरहने जयपुरी दिदी, दामा दिदीहरूलाई आफ्ना श्रीमानले छाडेर गएको अधुरो सपना पूरा गर्न युद्धका महत्वपूर्ण मोर्चामा एसएलआर र झोला बोकेर जनमुक्ति सेनामा पंतीवद्ध भएर लडाईंको मोर्चामा सकुसल लडिरहेकी दिदी विश्वक्रान्तिदेखि हजारौं बहादुर महिलाहरू हुनुहुन्छ । वास्तविक सहिद पत्नी वा जनताको कलाकार भनिने दिपाले देखाएको आफ्नो छोरी बोकेर ‘फुट्यौ रे भन्दा यो मुटु चिरिन्छ, जुट्यौ रे भन्दा यो मुटु फक्रिन्छ,’ भन्ने आरोपको अभिनयले नेता÷कार्यकर्ता जनताहरूको स्पन्दनहरू छोएको थियो । यो अपेराले हामी सबै हिक्का छाडीछाडी रोएका थियौं भने एकता, संघर्ष, रुपान्तरणको व्यवहारीक प्रयोग पनि यसले सिकायो । लडाईंका भयानक ज्वाराभाटमा पनि नडग्ने शाहस भरिदिएको यी बहादुर र युद्धका कथाहरू मेरो मनका हरपलमा आइरह्यो । लडाईंमा मुटु गुमाएकाहरूको अगाडि मैले छोरालाई जनताको घरमा छाड्नु, सहायक त्याग अनुभूती गर्दै मेरो मातृत्वको भावनाका छालहरू पनि महान विचारमै समाहित भयो । आफू पनि युग बदल्ने अभियानको एक सेना भएकामा गर्व गर्दै सुन्दर जीवनको आनन्द अनुभूति लिएर पारी क्षितिजमा विहानी खुलिरहेको मिठो समना देख्दै निदाउँछु ।

ताजा अपडेट

नेपालवाच विशेष