NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

तानातानमा शेरबहादुर देउवा

काठमाडाैं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल १२ फागुन दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगे । जुन बेला प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुग्दै थिए, उनीहरुका अरु नेता–कार्यकर्ताहरु भने अघिल्लो दिनको सर्वोच्च अदालतको फैसलाको खुशीयालीमा विजय जुलुस गरिरहेका थिए । निवासमा पुगेर प्रचण्डले देउवालाई मिलेर जान प्रस्ताव गरे । देउवाले पनि पार्टी भित्र छलफल गरेर अघि बढ्ने जनाउ दिए । बुढानिलकण्ठमा देउवा र प्रचण्ड–माधव नेपालबीच भेटघाट चलिरहँदा प्रधानमन्त्री निवास बालुवाटारमा भने ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सञ्चारमाध्यमसँग प्रस्तुत हुँदै थिए । ओली समूहको स्थायी समिति बैठकको निर्णय सुनाउने क्रममा ज्ञवाली भन्दै थिए, ‘हामी पार्टी एकताकै पक्षमा हौं । तर, उहाँहरु (प्रचण्ड–माधव नेपाल) नेपाली कांग्रेससँग सत्ता साझेदारीको कुरा गर्दै हुनुहुन्छ भन्ने सुनिँदैछ । यसरी त कसरी पार्टी एकता होला र ?’ केही दिन अघि मात्र प्रचण्डले संसद पुनस्थापना भए आफू प्रधानमन्त्री नबन्ने, त्यो पद प्रतिपक्षलाई दिन तयार रहेको बताएका थिए । भलै, प्रचण्ड पनि भर भएका नेता भने होइनन् । जानकारका अनुसार ओलीलाई सत्ताबाट हटाउन प्रचण्ड–माधव नेपालहरु देउवालाई प्रधानमन्त्री बनाउन तयार छन् । उनीहरुले ओली सत्तामा बसेको १ मिनेट पनि देख्न चाहेका छैनन् । स्रोतका अनुसार ओलीलाई गलहत्याउन प्रचण्ड–माधव नेपाल प्रतिनिधिसभाको पहिलो बैठक बसेकै दिन देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न समेत तयार छन् । प्रचण्ड–माधव पक्ष ओलीलाई जति सक्दो चाँडो प्रधानमन्त्रीको कुर्सीबाट फाल्न त आतुर छन् नै, राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत महाभियोग लगाउने दाउमा छन् । भण्डारीलाई महाभियोग मार्फत हटाएर उनको स्थानमा झलनाथ खनाललाई राष्ट्रपति बनाउने योजना छ प्रचण्ड–माधव समूहको । महाभियोग पारित गराउन प्रचण्ड–माधवलाई दुई तिहाई मत चाहिन्छ । त्यसका लागि नेपाली कांग्रेससमेत सहमत हुनुपर्छ । नेकपा नेतृ पम्फा भुसाल प्रचण्ड–माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटमा के कुरा भयो भन्ने कुरा आफूले जानकारी नपाएको बताउँछिन् । भन्छिन्, ‘म बिहानदेखि नै विजय जुलुसमा छु । हाम्रा अध्यक्षद्धय र शेरबहादुर देउवाबीच के संवाद भएको मलाई थाहा छैन ।’ यता ओली पनि आफू हटनु परेको अवस्थामा देउवालाई प्रधानमन्त्री बनाउन तयार भएर बसेका छन् । तर, प्रचण्ड–माधव नेपाललाई सत्ता सुम्पन कुनै हालतमा तयार छैनन् । बालुवाटारको रणनीतिबारे जानकार एक नेताका अनुसार ओली देउवालाई प्रधानमन्त्रीको कुर्सीमा राखेर राष्ट्रपतिलाई महाभियोग लगाउने प्रचण्ड–माधवको योजनामा कांग्रेसलाई असहमत गराउने दाउमा छन् । प्रधानमन्त्रीको कुर्सी पाए कांग्रेस राष्ट्रपतिलाई महाभियोग लगाउन तयार हुने छैन ।भलै, ओली समूहका प्रवक्ता एवं परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार आगामी सत्ताका यात्राको विकल्पमा छलफल गरिनसकेको बताउँछन् । ‘हामी राजनीतिक स्थिरता कसरी कायम राख्ने भन्नेमा चिन्तित छौं । त्यसका लागि हामी सबै पार्टीसँग छलफल गर्छौ’, ज्ञवालीको भनाई छ, ‘हामीले प्रधानमन्त्रीका लागि देउवालाई अहिलेसम्म प्रस्ताव गरेका छैनौ ।’ तानातानमा परेका देउवाले के गर्लान् ? नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आगामी प्रधानमन्त्री को बन्छन् भन्ने घटनाक्रम नेकपाको संसदीय दलको बैठकको निर्णयपछि निर्भर हुने बताउँछन् । ‘प्रचण्ड–माधव नेपालहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । तर, पनि उनीहरुको संसदीय दल विभाजित भइसकेको छैन् । नेकपाको रणनीति स्पष्ट भएपछि मात्र कांग्रेसले एउटा पोजिसन लिन्छ’, प्रवक्ता शर्मा भन्छन्, ‘प्रतिनिधि सभा पुनस्थापना लगत्तै पनि प्रचण्ड–माधव नेपालले हाम्रा सभापतिलाई फोन गर्नुभएको थियो । आज दिउँसो पनि नेताहरुबीच भेट भयो । उहाँहरुबीच आन्तरिक छलफल गरेर फेरि बस्ने कुरा भएको छ । त्यसपछि मात्रै प्रधानमन्त्री कसलाई बनाउने भन्ने कोर्समा कांग्रेस प्रवेश गर्छ ।’ कांग्रेस सभापति देउवा ओली वा प्रचण्ड–माधव समूहमध्ये अन्तिममा कसको ललिपपमा पर्ने हुन् ? स्पष्ट भइसकेको छैन् । यद्यपि यसबेला देउवा ओलीसँग निकट छन् । उनले ओलीसँग भागवण्डामै संवैधानिक निकायहरुमा नियुक्ती पाएका छन् । ओलीले देउवाकी सासु प्रतिभा राणालाई राजदुतबाट पनि फिर्ता बोलाई दिएका छैनन् । ५ पुसको ओली कदम बिरुद्ध कांग्रेसका बहुमत सदस्यहरुले सडक संघर्ष गर्नु पर्ने आवाज उठाएका थिए । प्रचण्ड–माधवले देउवालाई भेटेरै संयुक्त आन्दोलनमा सहभागी हुन आग्रह पनि गरे । तर, देउवाले सशक्त सडक आन्दोलनका पक्षमा मौन बस्न नै भलो ठाने । संयुक्त आन्दोलनमा त सहभागी नहुने घोषणै गरि दिए । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, नेता रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्ण सिटौलालगायत बहुमत ओलीसँग मिल्न नहुने अडानमा छन् । प्रतिगमनको अगुवा ओली नै भएकाले उनीसँग सहकार्य गरेर जान नहुने बहुसंख्यक कांग्रेसको भनाइ छ । तर, सभापति देउवाको ‘केमेष्ट्री’ ओलीसँगै मिलेकाले उनले आधिकारिक निर्णय नदिएसम्म अरुको केही चल्दैन । देउवाको स्वभावबारे जानकारहरु भने अन्त्यमा उनी ओलीसँगै मिल्न सक्ने बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष