NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

कैदीबन्दीबीच झडप भएपछि तनहुँको कारागारबारे अध्ययन हुने

जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ । कारागारका कैदीबन्दीबीच आइतबार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । प्रशासन कार्यालयले आज प्रेस विज्ञप्तिमार्फत तीन सदस्यीय छानबिन टोली गठन गरिएको जानकारी दिएको छ । विवादित र झगडामा संलग्न कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको र हाल कारागारको सम्पूर्ण स्थिति सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । ‘घटना सम्बन्धमा कारागारभित्रका विविध पक्षको अध्ययन, छानबिन गरी आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ’, बरालले भने । कारागार कार्यालयभित्र रहेको ब्लक बीमा आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका कैदी र सोही ब्लकमा रहेका अन्य थुनुवा, कैदीबीच कारागारभित्रको सेवा सुविधामा विभेद गरेको भन्ने विषय बनाएर झगडा हुँदा पाँच कैदी घाइते भएका थिए । उनीहरुलाई दमौली अस्पतालमा उपचारपश्चात् कारागारमै फिर्ता गरिसकिएको छ । कारागारका निमित्त जेलर नारायण अधिकारीका अनुसार झगडामा संलग्न २५ कैदीबन्दीलाई स्थानान्तरण गरिसकिएको छ । सुरक्षा निकायको बैठकको निर्णयानुसार उनीहरुलाई आइतबार राति नै स्थानान्तरण गरिसकिएको उनले बताए ।रासस