किन गरिरहन्छन् प्रधानमन्त्री ओली सुरक्षा थ्रेटको स्टन्ट ?

प्रधानमन्त्री ओलीका पूर्वसहयोद्धा राधाकृष्ण मैनाली भन्छन्, ‘प्रधानमन्त्री ओली यस्तै उट्पट्याङ र स्टन्ट कुरा गरेर आफूलाई केन्द्रमा राख्न चाहन्छन् । यतिको सुरक्षा घेरामा बसेका उनलाई कोबाट सुरक्षा खतरा छ ?’काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आज पोखरा पुगेर भने, ‘ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नु होला ।’ यसअघि पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । गत १४ असारमा मदन भण्डारीको ६९ औं जन्मजयन्ती थियो । भण्डारीको जन्मजयन्ती कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन देशी–विदेशी शक्ति हावी भएकाले सुरक्षा थ्रेट बढेको बताएका थिए । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा गत २२ मंसिरमा केन्द्रीय समितिको बैठक डाकिएको थियो । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली बैठकमै सहभागी भएनन् । उनले त्यसको कारण देखाए, ‘म असुरक्षित छु । त्यसैले धुम्बाराही आउन सक्तिन । जब कि नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीलाई २४ सैं घण्टा सशस्त्र प्रहरी बलले सुरक्षा दिइरहेका हुन्छन् । त्यसमाथि प्रधानमन्त्री ओलीका अंगरक्षकहरु पनि लावालस्करका साथ जान्थे नै । प्रधानमन्त्री ओली राज्यका कार्यकारी प्रमुख हुन् । सुरक्षा निकायहरुका सूचीमा उनी अति विशिष्ट व्यक्तिको श्रेणीमा पर्छन । सुरक्षा निकायले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष गरी ६ जनालाई अति विशिष्ट व्यक्तिको सूचीमा राखेको छ । नेपाल प्रहरीका एक जना अतिरिक्त महानिरीक्षक (एआइजी) का भनाईमा यि ६ जना मध्ये पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई विशेष सुरक्षा व्यवस्था मिलाइएको हुन्छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले सुष्म निगरानी गरेर उनीहरुको सुरक्षा गरिरहेको हुन्छ । अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको सुरक्षार्थ गृह मन्त्रालयले अस्ति ७ मंसिरमा ‘विशिष्ट व्यक्तिहरुकाे सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ ल्याएको छ । ३० असार २०७० मा जारी भएको कार्यविधिलाई संशोधन गरेर गृह मन्त्तालयले नयाँ कार्यविधि ल्याएको हो । यो कार्यविधि अनुसार प्रधानमन्त्रीको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको संख्या अझ बढाइएको छ । जस्तो कि कार्यविधि अघि प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी बलबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा २८ जना परिचालित थिए । अहिले त्यो संख्या बढाएर ३५ पुर्याइएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजु अर्याल भन्छन्, ‘हाम्रो सशस्त्र प्रहरी बलबाट बहालवाला प्रधानमन्त्रीको सुरक्षामा इन्सपेक्टरको कमाण्डमा ३५ जना परिचालित भएका छन् ।’ विशिष्ट व्यत्तिहरुको सुरक्षार्थ नेपाली सेनामा ‘अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय’ नै छ । जसको कमाण्ड महासेनानीले गर्छन । यो निर्देशनालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा कसरी गर्ने भनेर सुरक्षाकर्मीहरुलाई विदेश समेत पुर्याएर तालिमको व्यवस्था गर्छ । प्रधानमन्त्री ओलीको सुरक्षाका लागि सेनाले प्रमुख सेनानी हिमालयन थापाको कमाण्डमा सेना परिचालन गरेको छ । जसमध्ये प्रधानमन्त्री ओलीको ‘क्लोज रिङ’ मा हमेशा ५ जना खटिइरहेका हुन्छन् । ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मीहरु खट्छन्’, नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल भन्छन्, ‘भ्रमण हुने भएपछि खतराको आँकलन गरेर आवश्यक सुरक्षा व्यवस्था गरिन्छ । त्यसको समन्वय नेपाली सेनाले गर्छ ।’ सुरक्षा खतरा आँकलन गरेर राष्ट्र प्रमुख, उपप्रमख, कार्यकारी प्रमुख, राज्य मन्त्री समेतका लागि ८ सयभन्दा बढी नेपाली सेना खटिइरहेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री, राज्य मन्त्रीहरुको निवासमा २४ सैं घण्टा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीले सुरक्षा दिइरहेको हुन्छ । नेपाल प्रहरीले प्रधानमन्त्री ओलीको सुरक्षामा प्रहरी उपरीक्षक (डिएसपी) राजन लिम्बुको कमाण्डमा करिव ६० जना सुरक्षाकर्मी परिचालन गरिरहेको छ । प्रधानमन्त्री ओलीको सुरक्षामा यस अघि नेपाल प्रहरीबाट डिएसपी सानुराम भट्टराई खटेका थिए । भट्टराईको एसपीमा बढुवा भएपछि लिम्बुलाईं खटाइएको हो । यद्यपि केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवर प्रधानमन्त्री ओलीको सुरक्षामा खटेका डिएसपीको नाम भन्न नमिल्ने बताउँछन् । भन्छन्, ‘सुरक्षाकै कारण प्रधानमन्त्रीको सुरक्षामा खटेका डिएसपीको नाम भन्न मिल्दैन ।’ जब कि नेपाल प्रहरीबाट प्रधानमन्त्री ओलीको सुरक्षामा डिएसपी लिम्बुको कमाण्डमा सुरक्षाकर्मी परिचालित छन् भन्ने कुनै गोप्य विषय नै होइन । जानकारहरुका अनुसार प्रधानमन्त्री ओलीको सुरक्षामा १ सय भन्दा बढी सुरक्षाकर्मी परिचालित भइरहेका छन् । ओलीको अनुमति बिना उनको नजिकमा कोही व्यक्ति जान पाउँदैनन् । के प्रधानमन्त्री ओलीलाई साँचिकै सुरक्षा खतरा हो त ? उनीसँग लामो सहकार्य गरेका झापा बिद्रोहका संस्थापक सचिव एवं पूर्वमन्त्री राधाकृष्ण मैनालीका आँकलनमा मलाई सुरक्षा सुरक्षा खतरा छ भनेर प्रधानमन्त्री ओलीले आफ्नो भाउ बढाउन खोजेका मात्र हुन् । ‘म प्रधानमन्त्री ओलीमाथि कुनै सुरक्षा खतरा देख्दिन । बरु ओली र उनी निकटहरुबाटै अरु नेताहरुलाई खतरा छ’, ०२७ सालदेखि नै ओलीको मनोविज्ञानलाई नजिकबाट नियालेका र केन्द्रीय कारागारको गोलघरमासँगै बसेका पाका राजनीतिज्ञ मैनाली भन्छन्, ‘प्रधानमन्त्री ओली यस्तै उट्पट्याङ र स्टन्ट कुरा गरेर आफूलाई केन्द्रमा राख्न चाहन्छन् । यतिको सुरक्षा घेरामा बसेका ओलीलाई कोबाट सुरक्षा खतरा छ ?’ नेकपाकै अर्का नेता प्रचण्डले पनि बेला–बेलामा आफूलाई सुरक्षा खतरा रहेको बताउने गरेका छन् । तर, ओलीले जस्तै प्रचण्डले पनि को बाट सुरक्षा खतरा हो त्यो भने खुलाउने गरेका छैनन् । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार सरकारले प्रचण्डको सुरक्षामा खटिरहेका केही सुरक्षाकर्मी कटौती गर्यो । यसपछि प्रचण्डले आफ्नो सुरक्षाका लागि पूर्व लडाकूहरुको साथ लिन थालेका छन् । नेपाली सेनाका एक जना उपरथी (अवकास प्राप्त) का अनुसार नेताहरुलाई आफूहरुले जनताबाट तारिफ पाउने कार्य गरिरहेका छैनौं । जनभावना विपरित चलेका छौं भन्ने राम्रै जानकारी छ । त्यसैले उनीहरु आफूले गरेका पश्चातापबाट बेला–बेलामा आफैं तर्सन्छन् । ‘त्यस्तो बेलामा ममाथि आक्रमण हुुने हो कि भनेर तर्सिएर आफूलाई खतरा रहेको बताउने गर्छन्’, सेवामा रहँदा विशिष्ट र अति विशिष्ट व्यक्तिहरुको सुरक्षा कसरी गर्ने भनेर तालिम लिएका एवं रणनीति समेत बनाएका ति उपरथी भन्छन्, ‘नेताहरुलाई कसैबाट सुरक्षा खतरा छ भने उनीहरु स्वयंको कार्यशैलीबाट छ । धाकाधडीको राजनीति गरिरहेकाले आफ्ना कुर्सी अरुले खोसिदिन्छन् कि भनेर उनीहरु हमेशा चिन्तित भइरहन्छन् । उनीहरुले त्यही अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।’
प्रतिक्रिया