प्रतिवन्ध लागेयता नेकपा (विप्लव) का दुई हजार ९८ कार्यकर्ता पक्राउ, जेलमा रहेका एक सय २७ रिहा हुँदै

काठमाडौं । १० फागुन ०७५ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ललितपुरको नख्खुमा रहेको एनसेलको टावरमा वम विष्फोटन गरायो । उक्त घटनामा एक जनाको मृत्यु भयो भने अरु दुई जना घाइते भए । त्यसलगत्तै २४ गते सोही समूहले वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन अध्यक्ष रोहन गुरुङका घरमा वम विष्फोटन गरायो । बम विष्फोटन, आक्रमण र हिंसात्मक गतिविधिमा उत्रिन थालेपछि सरकारले उक्त दललाई २८ फागुन ०७५ मा प्रतिवन्ध घोषणा गर्यो । वार्ताको प्रयास असफल भएपछि सरकारले उक्त समूहविरुद्ध प्रतिवन्ध घोषणा गरेको थियो । लामो प्रयासपछि उक्त दलमाथिको प्रतिवन्ध फुकुवा गर्ने निर्णय सरकारले गरेको छ । बिहीवार सरकार र उक्त दलबीच तीन बुँदे सहमति भएको छ । जसअनुसार अब नेकपाले हिंसात्मक गतिविधि छाड्ने र त्यसको बदलामा सरकारले उक्त दलमाथिको प्रतिवन्ध फुकुवा गर्ने, जेलमा रहेका बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने सहमति पनि जुटेको छ । सरकारसँग भएको सहमति अनुसार अब नेकपाका पक्राउ परेका र जेलमा रहेका नेता÷कार्यकर्ता रिहा हुनेछन् भने लागेको मुद्दा पनि खारेज हुनेछ । कति छन् नेकपाका पक्राउ परेका, जेलमा रहेका तथा पक्राउ परेका नेता/कार्यकर्ता ? नेपाल प्रहरीबाट प्राप्त तथ्यांक अनुसार हिंसात्मक गतिविधि थालेयता नेकपाका दुई हजार ९८ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई हजार आठ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो भने ९० जनालाई सोधपुछपछि छाडिएको थियो । मुद्दा दायर भएका पनि अधिकांश अहिले छुटिसकेका छन् । प्रहरीको तथ्यांक अनुसार अदालतमा मुद्दा दायर भएका एक हजार आठ सय ७६ जना नेकपाका नेता÷कार्यकर्ता छुटिसकेका छन् भने बाँकी एक सय २७ जना अझै जेलमा छन् । १४ जनामाथि भने अझै अनुसन्धान जारी छ । १० फागुन ०७५ देखि प्रतिवन्ध लाग्नुअघि अर्थात् २८ फागुनसम्म सरकारले देशभर नेकपाका ८५ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको थियो । जसमा ८० विरुद्ध मुद्दा दर्ता भएको थियो भने पाँच जनालाई सोधपुछ पछि छाडिएको थियो । ७७ जना अदालतले तोकेबमोजिमको कारवाही कटाएर छुटेका थिए भने तीन जना जेलमै थिए । त्यस्तै, २९ फागुन ०७५ (प्रतिबन्ध घोषणा भएयता) देखि ०७६ चैतसम्ममा एक हजार पाँच सय ७८ जना पक्राउ, एक हजार पाँच सय दुई विरुद्ध मुद्दा दर्ता, ७६ जना सामान्य सोधपुछपछि रिहा, एक हजार चार सय १० अदालती सजाय कटाएर रिहा भएका थिए भने ९२ जना जेलमै थिए । गत वैशाखदेखि बुधवारसम्म (१९ फागुन) सम्मको अवधिमा नेकपाका चार सय ३५ पक्राउ परी चार सय २६ विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । नौ जना सामान्य सोधपुछपछि रिहा भएका छन् भने तीन सय ८० जना अदालती सजाय कटाएर रिहा भएका छन् । त्यस्तै, ३२ जना जेलमा छन् भने १४ विरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । सरकार र उक्त दलबीच आज भएको सहमति अनुसार प्रतिबन्धात्मक कानुन अनुसार पक्राउ परेका, अदालतमा मुद्दा दायर भएका तथा अनुसन्धानका क्रममा रहेका सबै नेता तथा कार्यकर्ता रिहा हुने भएका छन् ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया