दुई वर्षमै चकनाचुर विप्लवको एकीकृत जनक्रान्ति !

केही समय अघि एउटा अन्तर्वार्तामा विप्लवले आफूले अघि सारेको एकीकृत जनक्रान्तिको व्याख्या गर्दै भनेका थिए, ‘यो राजनीतिक प्रणाली बदल्नु पर्यो । ..किसान, मजदुरहरूले सत्ता सञ्चालन गर्न पाउनु पर्यो । …राष्ट्रिय पुँजी देशको उन्नतिका लागि लगाउनु पर्यो । समाजमा भएका विभेदहरूलाई अन्त्य गर्ने, जातीय, लैङ्गिक विभेद अन्त्य गर्ने नयाँ संस्कृति दिनु पर्यो । वर्गहरूबीचको विभेद अन्त्य गर्ने हामीलाई नयाँ समाज चाहियो । सबैको जीवन उन्नत हुने समाज चाहियो । एकीकृत जनक्रान्ति भनेको यो हो ।’ आफैले दिएको अन्तर्वार्तामा जस्तै विप्लव राजनीतिक प्रणाली बदल्ने एकीकृत क्रान्ति गर्न लागिपर्ने हुन् वा प्रचण्ड भाग–२ बन्ने हुन् ? त्यो केही समयमै देखिएला ।मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीले २४–२५ कात्तिक ०७१ मा पोलिट्ब्युरो बैठक डाकेको थियो । त्यसबेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा–माओवादीका सचिव थिए । तर, आफैं सचिव रहेको पोलिटब्युरो बैठक उनले बहिष्कार गरे । त्यसअघिको नेकपा–माओवादीको स्थायी समिति बैठकमा पनि उनी सहभागी भएका थिएनन् । नेकपा–माओवादीको पोलिट्ब्युरो बैठक समापन भएकै भोलिपल्ट २६ कात्तिकमा विप्लवले कपिलवस्तुको साविक शिवगढी गाविसस्थित चिरई खोलापारिको घना जंगलमा अगुवा कार्यकर्ता भेला गरे । जुन यसबेला उनको घर भएको क्षेत्र हो । पछिल्लो समय रोल्पा इरिबाङबाट विप्लवको परिवार कपिलवस्तुको शिवगढी बसाई सरेका छन् । नेकपा–माओवादीको मूल नेतृत्वसँग उनले एक वर्षदेखि नै असहमति राख्दै आएका थिए । स्मरणीय छ, किरण, सीपी गजुरेल, रामबहादुर थापालगायतलाई उकासेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा एकीकृत (माओवादी) सँग ५ असार ०६९ मा विभाजन गराउन भूमिका खेल्ने एक प्रमुख पात्र विप्लव नै थिए । पूर्व पृष्ठभूमी प्रचण्ड नेतृत्वका बहुमत सदस्यहरूले १६–२१ जेठ ०५१ मा चितवनमा प्रथम राष्ट्रिय सम्मेलन गरी ‘जनयुद्ध’ सुरु गर्ने भन्दै त्यससँग असहमत निर्मल लामा, अमिक शेरचन, नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेललगायतलाई ‘कारबाही’ घोषणा गरे । प्रचण्डको नेतृत्वको यो समूहले ‘जनयुद्ध’ थाल्ने भन्दै केन्द्रीय सदस्यहरूको निश्चित सम्पत्ति पार्टीकरण गर्दै आर्थिक संकलनलाई तिब्र बनाएको थियो । तर, वर्ष दिन बितिसक्दा पनि सशस्त्र संघर्ष थाल्ने मितिमा अलमल गरिरहयो । संकलन गरिएको रकम नेताहरूले घरखर्चमै सिध्याउन थाले । अनेरास्ववियु ‘क्रान्तिकारी’ का तत्कालीन उपाध्यक्षद्धय विप्लव, गंगा श्रेष्ठ, मणि थापा, रवि कार्की, कुमार दाहाललगायत युवाहरू ‘बुढाहरूले जनयुद्ध सुरु गर्न ढिला गर्ने हो भने हामी आफैं सुरु गर्छौं’ भन्दै दवाव दिन र हतियार संकलन गर्नतिर लागे । यी भर्खराउँदा युवाहरूको चर्को दवावपछि असार ०५२ मा एकता केन्द्रले चितवनमा तेस्रो विस्तारित बैठक डाक्यो । बैठकले नेकपा एकता केन्द्रको नाम परिवर्तन गरी नेकपा ‘माओवादी’ राख्यो । अनि, जनयुद्ध सुरु गर्न सैन्य योजनासहित नीति पारित गर्यो । प्रचण्डले भदौ ०५५ मा भारतको पन्जाबमा भएको चौथो विस्तारित बैठकमा जनयुद्ध चाँडो सुरु गर्न केही युवाहरूको समूहले तीव्र दबाब दिएको खुलासा गरे । उनले ‘जनयुद्धको विकास र नयाँ चरणका कार्यभारहरू’ शीर्षकको प्रतिवेदन पेस गर्दै उक्त खुलासा गरेका थिए । प्रचण्डले ‘युवाहरूको समूहले तीब्र दवाव दिएको’ भनेर खुलासा गरेका पात्रहरू विप्लव, श्रेष्ठ, थापालगायत थिए । १ फागुन ०५२ बाट दीर्घकालीन जनयुद्ध सुरु गर्न दवाव दिने तिनै विप्लव एकीकृत क्रान्ति गर्ने उद्घोष गर्दै २६ कात्तिक ०७१ बाट फरक पार्टी गठनमा जुटेका थिए । किरण, थापालगायतसँग अलग भएपछि विप्लवले १ फागुन ०७३ मा काठमाडौंको खुलामञ्चमा उद्घाटन गरेर ७ गतेदेखि रोल्पाको थवाङमा महाधिवेशन गरेका थिए । त्यसअघि ११–१४ भदौ ०७३ मा बसेको केन्द्रीय समितिको बैठकले ‘जनयुद्ध’ दिवसका दिनबाट महाधिवेशनको गर्ने मिति तय गरेको थियो । महाधिवेशनबाट विप्लव महासचिव भए । त्यही महाधिवेशनले एकीकृत जनक्रान्तिको प्रतिवेदन पारित गरेर पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखेको थियो । महाधिवेशन अघि ७ भदौ ०७३ मा हेमन्तप्रकाश ओली ‘सुर्दशन’, सन्देश पौडेल, इश्लाम हवारीलगायत विप्लव समूहमा प्रवेश गरेका थिए । चम्काइको अवसर विप्लव ११ फागुन ०२४ मा रोल्पाको इरिबाङ गाउँको केबरीमा जन्मिएका हुन् । उनी ०३९ सालदेखि तत्कालीन अखिल छैटौँ हुँदै राजनीतिमा जोडिएका थिए । ०४३ मा विद्यार्थीका रोल्पा जिल्ला अध्यक्ष भए । त्यही साल उनले त्यसबेला ‘आइरन गेट’ भनिने एसएलसी पास गरे । त्यसपछि उच्च शिक्षाको धित पुरा गर्न काठमाडौँ आएर नेपाल ल क्याम्पसमा भर्ना भए । उच्च अध्ययनका लागि राजधानी छिरेपछि उनी अखिल छैटौँको काठमाडौँ जिल्ला सचिव, अध्यक्ष, वाग्मती अञ्चल अध्यक्ष हुँदै ०४८ सालमा केन्द्रीय सदस्य भए । पार्टी संगठनमा पनि उसैगरी सक्रिय भए । १ फागुन ०५२ मा ‘जनयुद्ध’ सुरु हुँदा विप्लव नेकपा (माओवादी) को ललितपुर जिल्ला सेक्रेटरी थिए । ०५४ मा विप्लवलाई कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनाएर खटाइयो । जानकारका भनाइमा उनलाई कर्णाली उपब्युरोमा लखेट्नुको खास कारण राजधाानीमा यानप्रसाद गौतम ‘आलोक’ सँगको अन्तरविरोध थियो । संयोग के भने उनलाई कर्णाली उपब्युरोमा पुर्याउन भूमिका खेल्ने आलोक चैत्र ०५८ मा विप्लवकै गृह जिल्ला रोल्पाको गुराँसेमा मारिए । कर्णाली उपब्युरोमा लखेटिनु विप्लवका लागि अवसर बनिदियो । उनी कर्णाली उपब्युरोमा गएपछि छापामारहरूले पहिलोपल्ट सान्नीगाड प्रहरी चौकी आक्रमण गरे । त्यस लगत्तै कालीकोटको पदमघाट प्रहरी चौकी आक्रमण गरी १३ थान थ्री नट थ्री राइफल नियन्त्रणमा लिए । कालीकोटमै महिलाहरूले गस्तीमा गाउँ पसेको प्रहरीको आधुनिक हतियार थ्री नट थ्री समेत खोसे । विप्लव उपब्युरो इन्चार्ज भएका बेला यी सफलता प्राप्त भएपछि उनी पार्टीभित्र चर्चित हुँदै गए । कर्णालीको फौजी सफलतापछि विप्लवको व्यक्तित्वले नयाँ उचाइ चुम्यो । कतिसम्म भने भदौ ०५५ मा भारतको पञ्जावमा भएको चौथो विस्तारित बैठकबाट प्रचण्डले मणि थापा, रवीन्द्र श्रेष्ठ, चन्द्रप्रकाश खनाल, हितमान शाक्य, वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई मात्र केन्द्रीय सदस्य बनाउने तयारी गरेका थिए । जानकारहरूका अनुसार कर्णाली उपक्षेत्रीय ब्युरोका तर्फबाट विप्लवको रिपोर्टिङ सुनेपछि प्रचण्ड यति प्रभावित भए कि उनलाई पनि केन्द्रीय सदस्य बनाए । पञ्जावको त्यो चौथो विस्तारित बैठकबाट ७ जना केन्द्रीय सदस्य चुनिए । यसपछि विप्लव केही समय प्रचण्डको विश्वासपात्र मात्र बनेनन्, ०६१–६२ सालतिर रोल्पा, रुकुमलगायत केही भूगोललाई समेटेर बनाइएको केन्द्रीय आधार इलाकाका ब्युरो इन्चार्ज नै भए । जुन बेला प्रचण्ड परिवारले रुकुम–रोल्पामै सेल्टर लिएर बसेका थिए । चकनाचुर एकीकृत क्रान्ति महाधिवेशन यताका ४ वर्षमा विप्लव नेतृत्वको नेकपाले महंगी, मूल्यवृद्धि, अवैध बजारीकरण, भ्रष्टाचारलगायत नियन्त्रण हुनुपर्ने भन्दै सरकारलाई दवाव दिँदै आएका थिए । विप्लव नेतृत्वको नेकपाले ०७४ को निर्वाचनमा देशभर अवरोध पुर्याउने प्रयास गरेको थियो । रोल्पा, भोजपुर, नुवाकोट, काठमाडौंलगायत जिल्लामा उम्मेदवारलाई लक्षित गरेर विष्फोटन गराउनुका साथै आक्रमणको प्रयास गरेका थिए । माघ–फागुन ०७५ मा विप्लव समूहले बझाङ, सर्लाही, भोजपुर लगायतमा दूरसञ्चार कम्पनी एनसेनका टावरहरूमाथि विष्फोटन गरायो । १० फागुन ०७५ मा ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय परिसरमा बम विष्फोटन गराएका थिए । जुन विष्फोटनमा परी एक जना पूर्व ब्रिटिस आर्मीको मृत्यु भयो । यसपछि सरकारले विप्लव समूहमाथि धरपकड बढाएको थियो । २८ फागुन ०७५ को साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । नेपाल प्रहरीबाट प्राप्त तथ्यांक अनुसार हिंसात्मक गतिविधि थालेयता विप्लव नेतृत्वका नेकपाका दुई हजार ९८ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई हजार आठ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो भने ९० जनालाई सोधपुछपछि छाडिएको थियो । प्रहरीका अनुसार अदालतमा मुद्दा दायर भएका एक हजार आठ सय ७६ जना नेकपाका नेता/कार्यकर्ता छुटिसकेका छन् एक सय २७ जना पुपक्र्षका लागि विभिन्न कारागारमा छन् । १४ जनामाथि अझै अनुसन्धान जारी छ । प्रतिवन्ध यता विप्लव समूहले ठूलो संगठनात्मक क्षति व्यहोरेको छ । केन्द्रीय सचिवालय सदस्य एवं मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली, केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला, राप्ती ब्युरो इन्चार्ज विरजंग, केन्द्रीय सदस्य माइला लामा लगायत दर्जनौं अगुवा नेता जेलमै छन् । संगठनात्मक क्षति, सशस्त्र क्रान्ति हुन नसक्ने लगायतकाे विश्लेषणपछि एकीकृत जनक्रान्तिलाई अधकल्चो छाडेर विप्लव समूह शान्तिपूर्ण राजनीतिक मैदानमा अवतरण हुन राजी भएकाे देखिन्छ । त्यतिबेला गंगानारायण श्रेष्ठ र विप्लवले एकसाथ क्रान्तिका सपना देखेका थिए । श्रेष्ठ अहिले जनता समाजवादी पार्टीका नेता छन् । एक समय सँगै अनेरास्ववियुको केन्द्रीय केन्द्रीय उपाध्यक्ष भएका उनीहरू एउटै ओछ्यानमा सुतेर क्रान्तिका खाका कोर्दथे । उनै श्रेष्ठ अहिले नै विप्लव माथि नकारात्मक कुरा गरिहाल्न नहुने बताउँछन् । श्रेष्ठका अनुसार विप्लव वार्तामा आउनु राम्रो कुरा हो । यसलाई स्वागत गर्नुपर्छ । तर, सरकार र विप्लव दुवैले एकले अर्कालाई उपयोग गर्नु हुन्न । ‘अब मुलुकमा समृद्धि ल्याउन स्थायी शान्ति चाहिन्छ । त्यसका लागि विद्रोही पक्ष र सरकार इमान्दारितापूर्वक लागुन्’, श्रेष्ठ भन्छन्, ‘शान्ति प्रकृयाका बाँकी रहेका कामहरू पुरा गर्ने गरी वार्ता सफल होस्, शुभकामना छ !’ विप्लव निकट नेता गुणराज लोहनीका शब्दमा एकीकृत जनक्रान्ति पुरा भएकै छैन । त्यसलाई त्यतिकै वेवारिस छाडेर, चकनाचुर पारेर वार्तामा आउन लागेको पनि होइन । लोहनीका शब्दमा एकीकृत जनक्रान्ति बल्ल सुरु हुन लागेको छ । ‘किनभने अब ०५८ सालमा संविधान सभाको वहस सुरु भएजस्तै वैज्ञानिक समाजवादको वहस सुरु हुन्छ’ लोहनी भन्छन्, ‘चुनाव लड्न, मन्त्री हुन विप्लव वार्तामा आएका होइनन् । पार्टी एकता भएपनि चार दलीय मोर्चासँग हुन्छ । अरुसँग हुँदैन ।’प्रचण्ड–माधव नेपाल समूहको नेकपाका नेता विशाल खड्काको भनाइमा सामान्यतयाः विध्वंसात्मक आन्दोलन हुनु राम्रो कुरा होइन । त्यस हिसावले शान्ति प्रकृयामा आउनु स्वागत योग्य हो । ‘तर, यो सम्झौता दुई अतिवादका पराजयको सम्झौता हो । पराजितहरूबीचको लिखित सहमति हो’, खड्का भन्छन्, ‘जनक्रान्ति त जनयुद्ध गर्दा पनि भनिएकै थियो । त्यो जनयुद्धको समापनसँगै सकिएको थियो । विप्लवले भन्ने गरेको जनक्रान्ति संभव नै थिएन ।’ केही समय अघि एउटा अन्तर्वार्तामा विप्लवले आफूले अघि सारेको एकीकृत जनक्रान्तिको व्याख्या गर्दै भनेका थिए, ‘यो राजनीतिक प्रणाली बदल्नु पर्यो । एकीकृत जनक्रान्ति भनेको यो हो । किसान, मजदुरहरूले सत्ता सञ्चालन गर्न पाउनु पर्यो । …राष्ट्रिय पुँजी देशको उन्नतीका लागि लगाउनु पर्यो । समाजमा भएका विभेदहरूलाई अन्त्य गर्ने, जातीय, लैङ्गिक विभेद अन्त्य गर्ने नयाँ संस्कृति दिनु पर्यो । वर्गहरूबीचको विभेद अन्त्य गर्ने हामीलाई नयाँ समाज चाहियो । सबैको जीवन उन्नत हुने समाज चाहियो । एकीकृत जनक्रान्ति भनेको यो हो ।’ आफैंले दिएको अन्तर्वार्तामा जस्तै विप्लव राजनीतिक प्रणाली बदल्ने एकीकृत क्रान्ति गर्न लागि पर्ने हुन् वा प्रचण्ड भाग–२ बन्ने हुन् ? त्यो केही समयमै देखिएला ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया