NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

शान्तिपूर्ण राजनीतिमा विप्लवको ‘इन्ट्रि’ : सहिदको सम्झनामा भावुकतादेखि लडाकु र हतियार बारे मौनतासम्म

काठमाडाैं । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिदै पनि पूर्णतः असफल भएको संसदीय गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा एकरत्ति पर्नु हुँदैन् ।’ संसदीय राजनीतिलाई भ्रमको संज्ञा दिएको विप्लवसहितको हस्ताक्षर भएको विज्ञप्तीमा प्रधानमन्त्री ओलीको कदम विरुद्ध मोर्चाबन्दीमा जुट्न अपिल गरिएको छ । विज्ञप्तीमा विप्लवले भनेका छन्, ‘जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फाँसिवादको सहाराद्वारा आफ्नो संकट टार्न खोज्ने संसद्वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरुप पर्ने केपी ओलीले यो कदम चालेका छन् ।’ प्रधानमन्त्री ओलीको कदमलाई फासिवाद र संसदीय राजनीतिलाई भ्रमको संज्ञा दिएका विप्लवले शुक्रबार भने तीनै ओलीसँग एउटै मञ्च सेयर गरेर संसदीय राजनीतिमा ‘शान्तिपूर्ण’ इन्ट्रि गरे । यसअघि बिहीवार सरकार र प्रतिबन्धित नेकपाबीच तीन बुँदे सहमति भएको थियो । नेकपाले सशस्त्र युद्ध छाड्ने र त्यसको बदलामा सरकारले पक्राउ तथा जेलमा परेका पार्टीका नेता तथा कार्यकर्तालाई रिहा गर्ने सहमति भएको थियो । सोही सहमतिपत्रमा शुक्रवार दुवै पक्षले संयुक्त हस्ताक्षर गर्ने तथा प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय गरियो । यसैका लागि विहान नवलपरासीबाट काठमाडौंका लागि हिँडेका विप्लवले सभागृह जानुअघि बालुवाटार गएर प्रधानमन्त्री ओलीसँग निवासमै पुगेर व्यक्तिगत भेट गरे । दिउँसो दुई बजेलाई निर्धारित कार्यक्रममा १ बजेदेखि नै विप्लवका समर्थकसँगै सर्वसाधारण र सञ्चारमाध्यमको भीड जम्मा हुन थालिसकेको थियो । सभागृहको गेटबाटै विप्लवलाई स्वागत गर्न युवा समर्थकहरूको भिड लागेको थियो । रातो रंगको टिसर्टमा विप्लवको समर्थनमा लेखिएका नारा लगाएर उनीहरू स्वागतमा लाम लागेका थिए ।विप्लवको आगमन हुनुभन्दा एक घण्टाअघिबाटै उनीहरुले नारा लगाइरहेका थिए – विप्लव आउ देश बचाउ । दिउँसो २ : २५ बाट कार्यक्रम स्थलमा सरकारी वार्ता टोलीको नेतृत्व गरेका गृहमन्त्री बादल आइपुगे । उनीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि कार्यक्रम स्थलमा पुगे । त्यसपछि विप्लव समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितको टोली कार्यक्रमस्थलमा प्रवेश गर्यो । गृहमन्त्री बादल र प्रकाण्ड आएको करिब २० मिनेट पछि प्रधानमन्त्री केपी शर्मा ओली सभागृह पुगे । उनीलगत्तै विप्लव पनि आइपुगे । दुई वर्षदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएका विप्लव पहिलो पटक देखिएका थिए । लु २ च २६६३ नम्बरको गाडीमा कार्यक्रमस्थलमा आइपुगेका विप्लवले हात हल्लाउँदै सभागृहभित्र छिरे । आफैंले प्रतिवन्ध लगाएका विप्लवलाई हात समाएर मञ्चमा लगे प्रधानमन्त्रीलेशुक्रवार विहान काठमाडौं आउनुअघि नवलपरासीमा सहिद परिवारलाई भेटेका विप्लवको निधारमा त्यही परिवारले लगाइदिएको रातो टिकाको दाग प्रष्टै थियो । दुई वर्षपछि सार्वजनिक रुपमा देखिएका विप्लवलाई सभास्थलको मञ्चमा ओलीलेसँगै हात समाएर लगेका थिए । विप्लवले मञ्चमा उक्लिदाँ अभिवादन गर्न उठाएको हातमा ओलीको हात पुग्यो ।ओलीले उनको हात समाएर सभालाई अभिवादन गरे । दुई वर्षअघि फागुनमा यिनै ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । दुई वर्षपछि माहोल फेरिएर दुवैले एउटै मञ्चमा सम्बोधन मात्रै गरिरहेका थिएनन् । ओली आफैंले प्रतिबन्ध लगाएका विप्लवलाई हात समाएर मञ्चमा लैजानेदेखि उनकै हात समाएर भिडलाई अभिवादन पनि गरिरहेका थिए । सभामा विप्लव नेतृत्वको नेकपाका नेता उदयबहादुर चलाउने ‘दिपक’ को स्वागत मन्तव्य र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकारले बताएको सहमति अघिको अन्तरकथापछि विप्लवले आफ्नो सम्बोधन सुरु गरे । रातो टिका लगाएका विप्लवले ‘लाम सलाम’ भन्दै सरकार र आफ्नो पार्टीबीच सहमति भएको दिनलाई ‘नयाँ दिन’को संज्ञा दिए । सरकार र आफ्नो नेतृत्वबीच भएको सहमति पार्टी र केही नेताबीच भएको सहमति मात्र नभएको बताउँदै विप्लवले भने, ‘यो सहमति भित्र महान आकांक्षा लुकेको छ । नेपाल देशलाई आत्मनिर्भर, स्वाधिन र सुन्दर बनाउने सपना यो भित्र छ । यो भित्र देशमा दीर्घशान्ती, स्थिरता र नेपाली जनताको अहिलेसम्म पुरा नभएको समृद्धिको आकांक्षा, नेपाली युवाभित्र हुर्किएको एउटा समृद्ध जीवनको चाहना पनि यो भित्र छ ।’ सहिद परिवारलाई सम्झिदैं विप्लवको भावुकता विप्लवले कार्यक्रममा सम्बोधन गर्दै सहिद परिवारलाई सम्झिए । उनको सम्झनामा शुक्रबार विहान उनको निधारमा रातो टिका लगाइदिने सहिदकी आमादेखि दिलबहादुर रम्तेल र झापाको सुखानी हत्याकाण्डमा मारिएका पाँच सहिदसम्म अटाए । ‘एउटा अँध्यारो समयमा, अँध्यारो एउटा परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानीको जंगलमा हाम्रा पाँच जना अग्रजहरूले रगत दिएका थिए । उनीहरूले सहर्ष आफ्नो जीवनलाई नेपाली देश र नेपाली जनतालाई समर्पित गरेका थिए,’ उनले भने, ‘जनयुद्धमा बलिदान गर्ने दिलबहादुर रम्तेल फागुन १४ बाट झापाको जंगलमा झुन्डिन तयार हुने, गोली खान तयार हुने पाँच जना अग्रजहरू सहित जोडेर नेपाली परिवर्तनकारी शहिदहरूको सम्झनामा शहिद सप्ताह मनाउने गरेका छौं । आज त्यही दिन परेको छ ।’ आफूले शुक्रबार विहान सहिद परिवारीकी आमाबाट टिका लगाएको प्रसंग पनि सम्झिए विप्लवले । उनी ती आमाले आफूलाई भनेका कुरा बताउँदै केही भावुक भए । उनले भने, ‘आज बिहान अवसर पनि जुट्यो । र हामी एउटा गाउँमा बस्दै गर्दा एउटा सहिद आमाले टिका लगाइदिनुभयो । उहाँले भन्नुभयो, ‘आजसम्म धेरैका इच्छा पूरा भए । तर, सहिदको चाहना पूरा भइसकेको छैन् । नेपालका जनताको चाहना पुरा भएको छैन् । हामी दुःख गरीखाने नेपालीको चाहना पूरा भएको छैन् ।’ घाम र जुनः विप्लव र ओली आफ्नो मन्तव्यभर गम्भिर देखिएका विप्लव एक भागमा भने प्रधानमन्त्री ओलीकै शैलीमा केही रसिला प्रस्तुत भए । प्रायः मञ्चमा देखिने ओलीको अवतारजस्तै विप्लवले पनि गीत सापटी लिए ।कर्णाली क्षेत्रमा गाइने गीतको एक पंती उदृध गर्दै विप्लवले आफू र सत्ता पक्षलाई ‘घाम र जुन’सँग तुलना गरे । उनले उदृध गरेको गीत थियो–यो कस्तो प्रेम भयोजुन र घामको जस्तोकहिल्यै भेट नहुने गीतको अंशपछि विप्लवले भने, ‘हामी त्यस्तो भयौं भन्ने मान्छेलाई लागेको थियो । तर, जुन र घामको पनि भेट हुन्छ ।’ कर्णालीको गीत सापटी लिएका विप्लवले राजधानीबाट अब नेपाली जनताको श्रममाथि उभिएर देश बताउने घोषणा गरे । कम्युनिष्ट नेता र आन्दोलनको वर्णन विप्लवको भाषणमा अटाएको अर्को पाटो थियो, कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट नेताहरूको वर्णन । उनले कुनै पनि कम्युनिष्ट नेता मृत्युको नजिक नपुगेको नहुने सम्म भन्न भ्याए । नेपाली कम्युनिष्ट आन्दोलनमा सहभागी भएकाहरूले नै सबैभन्दा कठिन समय र परिस्थिति भोगेको उनले बताए । उनले भने, ‘मृत्युको नजिक नपुगेर फर्किएको नेता पनि छैन् । सबैभन्दा कठिन समय, सबैभन्दा कठिन परिस्थिति नझेलेको हामीसँग कोही पनि नेताहरू छैन् ।’ कम्युनिष्टहरूले विद्रोह गर्ने तर उनीहरू शान्तिका दूत पनि भएकोमा विप्लवले जोड दिए । ‘हामी कम्युनिष्ट जति बेला अन्याय हुन्छ, जति बेला मान्यतामाथि हमला भएको महसुस हुन्छ, हाम्रो देशमाथि कसैले गिद्धे नजर लगाउँदा हामी विद्रोह गर्छौ,’ उनले भने, ‘कम्युनिष्टहरू भनेका शान्तिका दूत पनि हुन् । शान्तिका दूत पनि यो संसरमा कोही छ भने कम्युनिष्ट छन् । सम्पूर्ण उत्पीडनलाई मिल्काएर समाजमा दीर्घकालिन ढंगले न्यायपूर्ण ढंगले समाज स्थापित गर्ने विचार दृष्टिकोण र अकांक्षा कहीं छ भने त्यो कम्युनिष्ट आन्दोलनसँग छ ।’ सरकारसँगको सहमतिमा प्रतिबद्ध हुने सरकारसँग गरेको सहमतिमा आफू प्रतिवद्ध रहेको वाचा विप्लवले व्यक्त गरे । सरकारसँगको सहमतिमा कसैले पनि कुनै आशंका तथा कुतर्क गर्न जरुरी नभएको उनको भनाइ थियो । उनले भने, ‘हामीले भनेका छौं तीन बुँदे सहमतिमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ । कहींबाट कसैले पनि आशंका, कुतर्क गर्न जरुरी छैन् । हामी प्रतिबद्ध छौं । हामी पालना गर्छौ ।’ सरकारसँगको सहमतिमा आफू प्रतिबद्ध रहने बताएका विप्लवले आफ्ना पार्टीका नेता तथा कार्यकर्ता छुट्ने विषयमा भने प्रवेश नै गरेनन् । मन्तव्यमा उनले भने, ‘हाम्रा धेरै साथीहरु अब छुट्नुहुनेछ । मलाई विश्वास छ ।’ सरकार र आफ्नो पार्टीबीच सहमति भएसँगै दुवैले आफ्नो कतव्र्य पुरा गरेको उनको तर्क थियो । लडाकु व्यवस्थापनदेखि हतियारका विषायमा मौन सरकारी पक्षसँग भएको तीन बुँदे हस्ताक्षर पत्रमा कतै पनि विप्लव नेतृत्वको समूहको लडाकु व्यवस्थापन र हतियारका कुरा उल्लेख गरिएका छैनन् । शुक्रवारको कार्यक्रममा विप्लवको भाषणमा कतै न कतै यो प्रसंग उल्लेख हुने अपेक्षा धेरैलाई थियो । तर, विप्लवले आफ्नो भाषणमा कतै पनि यी कुरालाई समेटेनन् । विप्लव समूहसँग कति लडाकु छन् तथा उनीहरूसँग भएको हातहतियार बारेमा हालसम्म कतै कुनै जानकारी सार्वजनिक भएको छैन् । सरकारी पक्षले पनि यो बारेमा कुनै सूचना सार्वजनिक गरेको छैन् ।

ताजा अपडेट

नेपालवाच विशेष