NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रतिपक्षी नेतालाई प्रधानमन्त्रीको अफर गर्नु जनमत विपरित : मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्रीको अफर गर्नु जनमत विपरित भएको राय व्यक्त गरेका छन् । पुनःस्थापित नेकपा (एमाले) को मोरङ जिल्लास्थित पार्टी कार्यालयको शुभारम्भ गर्दै मन्त्री ढकालले ०७४ को निर्वाचनमा अहिलेकै सरकारको पार्टीलाई देश विकासको जिम्मेवारी सुम्पिएकाले बीचमा आएर प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बन्न अफर गर्नु जनताले दिएको म्यान्डेट विपरित हुने बताएका हुन् । उनले निर्वाचनका समयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विजयी भएकाले प्रतिपक्षका नेतालाई प्रधानमन्त्री बनाउन पहल गर्नु जनताको चाहना विपरित हुने जिकिर गरे । ‘तीनवर्षसम्म पार्टीभित्रबाट सरकार सञ्चालन र जनताको काम गर्नमा सधैँ बाधा–व्यवधान उत्पन्न भइरह्यो,’ मन्त्री ढकालले पुस्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालपक्षका नेतालाई संकेत गर्दै भने । सर्वोच्च अदालतले साविक नेकपाको आधिकारिकता ऋषि कट्टेलमा गइसकेको प्रसंग जोड्दै पुनर्स्थापित नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले सबैलाई समेटेर अगाडि बढ्नेसमेत बताए । वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय तह र संघीय निर्वाचनका लागि नयाँ जनादेशमा जान तयारी सुरु गरेको विचार व्यक्त गरे । मन्त्री ढकालले एमालेले संसद्मा विश्वासको मत लिने स्पष्ट पार्दै यसका लागि पार्टीलाई एउटा दलका साथ लिए विश्वासको मत प्राप्त हुने तर अन्यले तीन दलको साथ पाउनुपर्ने भएकाले पार्टीले सबै विकल्प खुल्ला गरेको धारणा राखे । सोही अवसरमा मन्त्री ढकालले नेपाल विद्यार्थी संघ परित्याग गरी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा प्रवेश गर्ने विद्यार्थीहरुलाई स्वागत गरेका छन् विराटनगर–११ स्थित पार्टीको पुराना कार्यालयमा नयाँ बोर्ड लगाई आजदेखि एमालेको कार्यालयको शुभारम्भ गरिएको हो ।