रोयल मर्चेन्ट बैंकिङ लिमिटेडमा घोटाला : ४० करोड ३४ लाख बिगोसहित संचालक र ऋणीविरुद्ध ११ मुद्दा दायर

काठमाडौं । तत्कालीन रोयल मर्चेन्ट बैंकिंङ एण्ड फाइनान्स लिमिटेडमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले ४० करोड ३३ लाख ८९ हजार रुपैयाँ बिगो माग दावी गर्दै कम्पनीका सञ्चालक र ऋणीविरुद्ध छुट्टाछुट्टै ११ मुद्दा दायर गरेको छ । उक्त कम्पनीमा सरकारकोसमेत सेयर हिस्सा थियो । सरकारको सेयर हिस्सा भएको कम्पनीमा भ्रष्टाचार भएपछि आयोगले त्यसको अनुसन्धान अघि बढाएको थियो । रोयल मर्चेन्टमा नागरिक लगानी कोषको तर्फबाट छवीरमण अधिकारी सञ्चालकमा नियुक्त भएका थिए । अधिकारी सञ्चालक रहँदा प्रक्रियाविपरित कर्जा प्रभाव भएको थियो । कम्पनीका सञ्चालकहरू अधिकारीसहित बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यले प्रक्रियाविपरित कर्जा प्रवाह गर्ने निर्णय गरेका थिए । कर्जा काठमाडौंको दरवारमार्ग शाखाबाट प्रवाह भएको थियो । न्यूनतम मापदण्डसमेत नअपनाइ, प्रक्रिया विपरित, अनियमित र लापरवाही ढंगबाट ठूलो मात्रामा कर्जा भएको प्रवाह भएको आयोगको ठहर छ । कम्पनीमा सरकार अन्तर्गतको नागरिक लगानी कोषसमेतको लगानी थियो । उक्त कम्पनीसमेत मर्ज भएर एपेक्स डेभलपमेन्ट बैंक लिमिटेड बनेको थियो । उक्त बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी) मा मर्ज भएको थियो । यसरी कर्जा प्रवाह हुँदा भ्रष्टाचार भएको आयोगको ठहर छ । कम्पनीका सञ्चालकहरू बसन्त मल्ल, बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध संचालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोज कुमार भेटवाल, ऋणी भैरब प्रसाद भेटवाल र रविन लामासमेतलाई नियन्त्रणमा आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया