NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

लकडाउनमा सासू–बुहारीको उद्यम, मुखै रसाउने ‘टिकल–पिकल’

काठमाडौं: अञ्जु शर्मालाई खानामा अचार नभई हुँदैन । अहिलेमात्रै होइन, बच्चादेखि नै अचार नभई खाना नै नरुचाउने बानीले ५८ वर्षीया शर्मालाई आज एक उद्यमी बनाएको छ । पानीपोखरीस्थित उनको निवासमा जाँदा बाटाभरी राखिएको लप्सीको माडा हाल्नमा व्यस्त थिइन् उनी । लकडाउन पछि यो त शर्माको दैनिकी नै बनिसकेको छ । लैनचौरस्थित सिवेक अस्पतालमा कार्यकारी निर्देशकका रूपमा कार्यरत शर्मा कार्यालयबाट फर्केपछि सिधै अचार बनाउनतिर लाग्छिन् । सुरुसुरुमा त कार्यालयका सहकर्मीले ‘अचार बेच्न थालेको रे ?’, भन्दै जिस्क्याउँथे पनि । तर, अब त यो सबै सामान्य लाग्न थालिसकेको छ उनलाई । दुई दशक बैंकरको रुपमा काम गरेर यतिबेला अस्पतालको कार्यकारी निर्देशक पदमा पुगेकी शर्मालाई अचार बनाएर बेच्ने सोच कसरी आयो ?यो सबै लकडाउनको कमाल हो । त्यो भन्दा धेरै अचार भनेपछि हुरुक्कै हुने बानीले डोहोर्‍याएको यात्रा पनि । खाना खाँदा शर्मालाई बरु दाल तरकारी केही नभए पनि हुन्छ तर अचार अनिवार्य चाहिने । आफ्ना लागि त उनले अचार बनाउने नै भइन् । उनले बनाएका अचार अरुलाई पनि मिठो लाग्थ्यो । फुर्सदमा बनाएका अचार बट्टाभरी राखेर आफन्त र साथीभाइलाई पनि दिन्थिन् । कोरोना महामारीको लहर चल्दा गत वर्षकोे चैत ११ बाट नेपाल पनि लकडाउनमा गयो । अरुबेला कार्यालयमै बित्ने समय अब कसरी बिताउनु भन्ने चिन्ता त थियो नै । केही काम नगरी समय काट्न पनि चाहन्थिनन् उनी । अस्पतालमै कार्यरत भए पनि उनी ‘फ्रन्टलाइनर’ भने होइनन् । जसकारण पनि फुर्सदको पहाड थियो उनको अघि । त्यही फुर्सदमा डल्ले खुर्सानीको १२ बट्टा अचार बनाइन् । आइतबारको दिन थियो । फेसबुकमा ती फोटोहरूलाई क्याप्सन पनि दिइन्, ‘ए बिजुलीको तार, फुर्सद भए ए हजुर भेटौं आइतबार’ र पोष्ट गरिन् । त्यसो त लकडाउनको पहिलो चरणमा सामाजिक सञ्जालमा घरमा विभिन्न परिकार बनाएर फोटो हाल्नेको त लहर नै चरेको थियो । तर, त्यही लहरमा मिसिएकी शर्माको यात्रा भने उद्यमीतिर तय हुँदै थियो । यसबारे शर्माले सायदै सोचेकी थिइन् । फेसबुकमा मुखै रसाउने डल्लेको अचार देखेपछि अचारका पारखीबाट ‘कमेन्ट’को ओइरो लाग्यो । फेसबुककै माध्यमबाट उनीसँग जोडिएका अधिकांंशले कति पैसा पर्छ भन्दै सोध्न थाले शर्मालाई । शर्मा भने प्रतिक्रिया हेर्दै मख्ख थिइन् किनभने उनले अचार बेच्नेबारे त सोचेकी नै थिइनन् त्यतिबेला । तर, धेरैले अचार किन्ने चाहना राखेपछि शर्माको मनमा प्रश्न उठ्यो, ‘एकपटक किन कोशिश नगर्ने ?’ तर, उनी एक्लैले त्यति धेरै अचार बनाएर बेच्न सक्ने अवस्था थिएन । उनलाई सहयोगी हातको पनि आवश्यक्ता थियो । बुहारी हिमा राई पनि फुर्सदमै थिइन् । यसअघि छोरीको हेरचाहमा पूर्ण रुपमा लागेकी राईकी छोरी पनि ११ वर्ष लागिसकिन् । आफ्नै घरमा बुहारी भएपछि शर्माले सहयोग लिन टाढा जाने कुरा पनि भएन । त्यसमा पनि गृहीणी हिमालाई भान्साप्रति लगाव छ । फेसबुकमा राखिएको उक्त फोटोमा आउने लाइकसँगै अचारको माग ह्वात्तै बढेपछि सासू–बुहारी मिलेर अचार बनाएर बेच्ने सोचमा बुहारी हिमा पनि राजी भइन् । त्यसो त, १८ वर्षको उमेरदेखि नै जागिर गर्न थालेकी शर्मा लकडाउनमा घरम त्यत्तिकै बस्न सक्ने थिइनन् । कामकाजी उनलाई केही न केही काम गरिरहनुपर्छ । केही उपयोगी काम नै गरौं भन्ने भएपछि शर्माको अचार बनाउने जुक्तिले ठ्याक्कै मेल खाएजस्तो पनि भयो । त्यसमा पनि अचार बनाउनु त शर्माको ‘प्यासन’ जस्तै थियो भने बुहारी हिमामा भान्सामा सक्रिय हुन सक्ने खुबी । सुरुमा कत्तिको बिक्री हुने रहेछ भनेर एकपटक प्रयास गरे सासू–बुहारीले । शर्माले दुईसय पचास रुपैयाँ मूल्य तोकेर फेसबुकमा राखिन् । सुरुमा बनेको त्यही १२ बट्टा डल्लेको अचारमा सातवटा पहिल्यै अरुलाई बाँडिसकेकी थिइन् । बाँकी पाँचवटा विक्रि गर्नका लागि फेसबुकमा मूल्यसहित राखिन् । एकैछिनमा पाँचैवटा बिक्री भएपछि सासू–बुहारीले अब भने अलि बढी मात्रामा बनाएर बेच्ने निर्णय गरे । कुलमानको सम्मानमा बनेको अचार ‘बिजुली’ त्यसपछि नजिकैको तरकारी पसलबाट फेरि डल्ले खुर्सानी ल्याएर अचार बनाउन थाले । शर्मालाई डल्लेको अचारलाई भिन्नै नाम दिन मन लाग्यो । अचारको नाम के राख्ने भनेर सोच्दै जाँदा दिमागमा एउटा नाम गुञ्जियो ‘बिजुली’ । शर्माले आफ्नो युवावस्थाका अधिकांश समय लोडसेडिङमै गुजारिन् । आफ्ना जीवनका उर्जावान् समय लोडसेडिङमा बिताउनुपरेकोमा उनलाई अहिले सम्झदाँ थकथकी लाग्छ । त्यही लोडसेडिङलाई अन्त्य गराउन भूमिका खेलेका कुलमान घिसिङको सम्मान स्वरुप डल्लेको अचारको नाम बिजुली राखेकोे उनी बताउँछिन् । त्यसो त उनीहरूले बनाएका सबै अचारका आफ्नै नाम छन् । नाम अनुसारका कथा पनि फरक । पहिलो पटक बनाएका अचार छिनभरमै विक्री भएको देखेपछि सासू–बुहारीलाई अब व्यवसायिक रुपमै जाने प्रेरणा मिल्यो । त्यसपछि सुरु भयो सासु बुहारीको सहकार्य । घरेलु व्यवसायमै जानेबारे सोचेपछि उनीहरूले नाम नै दिए ‘सासू–बुहारी टिकल–पिकल’ । दुई हजारबाट साढे दुई लाखको व्यापार लकडाउनको दुई महिनासम्म आइपुग्दा १५ वटा किसिमका अचार बनाउन थालिसकेका थिए सासू–बुहारीले । रमाइलोको रुपमा सुरु भएको अचार बनाउने कामले यतिबेला व्यवसायिक रुप लिइसक्यो । यतिबेला उनीहरूले ३५ थरिका अचार बनाउँछन् । ‘सासू–बुहारी टिकल–पिकल’ भनेर अचार बनाउन थालेको साढे दुई महिनामा उनीहरूले संस्था नै दर्ता गराए । सुरुमा दुई हजार रुपैयाँ लागतमा सुरु भएको व्यवसायबाट अहिलेसम्म साढे दुई लाखको कारोबार भइसकेकोे शर्मा बताउँछिन् । त्यसमा पनि व्यापारको दश प्रतिशत आफूहरुले समाजसेवाका लागि छुट्याउने गरेको उनीहरुले बताए । अचार बेचेरै जिविकोपार्जन चलाउनुपर्ने स्थिति त उनीहरुलाई थिएन तर आफूमा अचारप्रति ‘प्यासन’ भएकै कारण निरन्तरता दिएको उनी बताउँछिन् । ‘इच्छा भयो भने फाइदाले त आफैं पछ्याउँदै आउने रहेछ,’ ५८ वर्षीया शर्मा प्यासनलाई पछ्याउन उमेरले नछेक्ने बताउँछिन् । अहिले आफ्नै भान्सामा भएको स्रोत साधनका प्रयोग भएको हुँदा ठूलो मात्रामा अचार बनाउन नसक्ने बताउँछन् उनीहरू । ‘जुनसुकै अचार बनाए पनि १५ देखि २० वटा भन्दा धेरै हुँदैन । धेरै नबन्ने हुँदा पनि एउटा एउटा गरेर डेलिभरि गर्न समस्या छ,’ शर्माले भनिन् । रेष्टुराँकोजस्तो १५ सय भन्दा माथिको अर्डरमा मात्रै डेलिभरि गर्ने नीति ल्याउन पनि अचारको सन्दर्भमा अन्याय हुने उनी बताउँछिन् । शर्मा आफैं ‘ड्राइभ’ गर्दिनन्, बुहारी हिमा आँखाको समस्याका कारण बाहिर घाममा निस्कन हुँदैन । त्यसकारण उनीहरूबाट अहिले अचार नियमित डेलिभर गर्न सम्भव छैन । आफ्नो अनुकुलतामा शर्माले कहिलेकाहीँ अफिस जाँदा निस्किएको समयमा डेलिभरि गर्छिन् । कति त उनीहरूको घरमै अचार लिन आउँछन् भने यो बाहेक उनीहरुले आफ्ना श्रीमानलाई डेलिभरिको जिम्मा दिएका छन् । श्रीमानहरुलाई उनीहरुले नाम नै तोकिदिएक छन्, ‘एडिबी’ अर्थात ‘अचार डेलिभरि बोइ’ । शर्माका छोरा र श्रीमान बाहिर निस्कदाँ उनीहरुलाई पायक पर्ने ठाउँमा अचार पु¥याइदिन सहयोग गर्छन् । मुस्लिम समुदायले पनि उनीहरूले बनाएको मासुका अचार निर्धक्क खान सक्छन् । अञ्जुकी सासू मुस्लिम भएका कारण सासूलाई अन्याय हुन्छ भनेर उनले हलाल गरिएको मासु प्रयोग गरेर अचार बनाउने गरेको बताइन् । यतिबेला लकडाउन सकिएर जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ । पहिलाजस्तो दिनभर फुर्सद छैैन शर्मालाई । हिमा पनि दिनभरि घरको काममा व्यस्त हुन्छिन् । सासू–बुहारीले अचार बनाउनका लागि यतिबेला आफूलाई अनुकुल हुने समय छ्ट्याएका छन् । शर्माले कार्यालयबाट घर आए पछिको समय अचार बनाउनका लागि छुट्याएकी छिन् । हिमा भने बेलुकी सबैजनाले खाना खाइसकेपछि काममा लाग्छिन् । कहिलेकाहीँ त रातको २ पनि बज्छ । भान्सामै भएको सामग्रीको प्रयोगका कारण उनीहरूले धेरै मात्रामा अचार बनाउन सक्दैनन् । सिमित मात्रामा बनाउने हुँदा पनि कुनै पसल खोलेका छैनन् । त्यसैले उनीहरूको घरमा भएका दराजका सबै कुनामा अचार नै अचार छन् । जसरी घरका कुना–कुनामा अचारका बट्टाले भरिएका छन् भान्सा र पाकवनका सौखिन यी सासू–बुहारीको मन पनि सोचलाई उद्यममा बदल्न सक्दा खुशीले भरिएको छ । हेर्नुहाेस् भिडियाे https://www.youtube.com/watch?v=y_uHhXEqAOY